महोत्तरी, १९ मंसिर । उखु काट्ने समय भइसक्दा पनि उखुको मूल्य नतोकिँदा महोत्तरी बेलगाछी–७, लिकटोल ढल्केवरका ४७ वर्षीय रामचन्द्र महतो चिन्तित बनेका छन् ।
गत वर्ष मंसिरमा सुरु हुनुपर्ने चिनी मिल पुस २५ गतेबाट सुरु हुँदा उखु खेतमै सुकेर उनलाई घाटा लाग्यो । गत वर्ष उखुको मूल्य समयमा नतोकिँदा उनको उखु खेतमै सुक्यो । उखु खेती गर्नका लागि लगाएको लगानी पनि उठाउन मुस्किल प¥यो । उनी यसपटक हच्किएर ३ विघामा गर्दै आएको उखु खेती २ विघामा सीमित राखेका छन् । अन्यमा धान, गहुँ र तरकारीबाली लगाएका छन् ।
उखु क्रसिङ्गको सिजन आइसक्यो । तर, चिनी मिल चल्ने छाँटकाट अहिलेसम्म देखिएको छैन । उखुको समस्याबारे कुराकानी गर्दा उनी समस्यामा परे जस्तो देखिन्थे । उनी भन्छन, ‘उखु खेती गर्न बैंकबाट लिएको ४ लाखको ब्याज पनि तिर्न सोच्नु पर्छ । छाक कटाएर उब्जाएको धान र तरकारी बेचेर बैंकको ब्याज बुझाउनु परेको छ ।’ उखु खेतको आलीमै भेटिएका उखु किसान रामचन्द्र एकाएक अनुहार मलिन बनाउँदै भने, ‘समयमा उखु काटिएन भने मजस्ता उखु किसान बैंकबाट लिएको ऋणको भारी बोकेरै मर्छन् ।’
यस्तै १ बिघा जमिनमा उखु खेती गरेका गौशाला–७ का ६५ वर्षीय सेख सतारले उखु खेती गर्दागर्दै यसमा आएको समस्याले आजित भएको बताए । विगत ४–५ वर्षदेखि किसानहरुले पुँजी फसाएर पनि भोग्दैआएको पीडा उनी सम्झिन चाहन्नन् ।
‘एक वर्षसम्म दश नंग्रा खिचाएर किसानले छोराछोरीजस्तै खेतमा उखुको लाथ्रा तयार गर्छन् । उखु किसनाले उब्जाएको उखु मूल्य लागतको आधारमा किसानले तोक्न पाउनु पर्ने हो । तर मूल्य तोक्न चिनी मिल उद्योगी नै खिचातानी गर्छन,’ उनी दिकदारी मान्दै थप्छन्’ ‘ अब त उखु खेती गर्ने मन छैन ।’
नेपालमा उखुलाई नगदेवालीको रुपमा नामाकरण गरिए पनि उखुको मूल्य निर्धारणमै ढिलाई भएपछि प्रत्येक वर्ष उखु खेती गर्ने किसानहरु समस्यामा पर्दै आएका लक्ष्मीनियाँ–६ का उखु किसान देवलाल महतोले बताए । ‘एक त समयमा उखुको मूल्य तय हुँदैन । त्यसमा पनि उखु किसानले चिनी मिलबाट उखुको रकम लिन आन्दोलन नै गर्नुपर्छ’ उनले भने ।
यता यस वर्ष महोत्तरीमा ८ हजार ५ सय विघामा गरिएको उखु खेतीबाट १९ लाख २५ हजार क्विन्टल उखु उत्पादन हुने एभरेष्ट चिनी मिल रामनगर महोत्तरीका उखु महाप्रबन्धक युगल किशोर चौरसियाले बताए । मिलले यस वर्ष महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहटलगायतका जिल्लाबाट करिब २५ हजार उखु किसानको उखु खरिद गर्न लागेको उनले बताए ।
उखुको मूल्य नतोकिँदा महोत्तरीका रामचन्द्र, सेख र देवलाललाई मात्रै समस्या रहेको छैन । यिनीहरुजस्ता तराई–मधेसका २२ जिल्लामध्ये महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कञ्चनपुरलगायत १८ वटा जिल्लाका एक लाखभन्दा बढी किसानहरु अहिले उखुको मूल्य तय नहुँदा चिन्तित भएका छन् ।
उखुको मूल्य निर्धारण गर्न कार्तिक २६ गते काठमाडौंमा उखु किसान प्रतिनिधि र चिनी मिल प्रतिनिधिबीच बैठक बसेको थियो । हाल बजारमा चिनी बिक्री भइरहेको दररेटका आधारमा किसानले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ हुनुपर्ने माग गरेका थिए ।
चिनी उद्योगीले किसानले माग गरेका मूल्य स्वीकार नगर्दा बैठक निष्कर्षविहीन भएको बैठकमा सहभागी नेपाल उखु तथा चिनी विकास समिति (बोर्ड)का सदस्य रमेश (कमल) बुढाथोकीले बताए ।
उनले भने, ‘उखुबाट उत्पादन हुने चिनी, बकास, छुवा र प्रेस मलको मूल्य पहिलेभन्दा बढेको छ । गत वर्ष बजारमा चिनी प्रतिकिलो ५८–६० रुपैयाँ हुँदा ४ सय ४८ रुपैयाँ उखुको मूल्य तोकिएको थियो । यसपटक बजारमा चिनी ८० रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । त्यसैको आधारमा हामीले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ८५ मागेका हौँ ।’
भारतको बिहारस्थित रिगा मिलले उखुको पुरानो दररेटमा यस वर्ष क्विन्टलमा भारु २५ रुपियाँ बढाउने भएकाले सोही बराबर गत वर्षको ४ सय ४८ मा ४० रुपैयाँ थप गरेर उद्योगीले प्रतिक्विन्टल ४ सय ८८ रुपैयाँ दिन तयार रहेको नेपाल चिनी उत्पादन संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए । उनले भने, ‘कारखाना बन्द भएको अवस्थामा चिनीको भाउ बढेको छ । त्यसैले अहिलेको बजारको चिनीको मूल्यअनुसार हामी उखु किसानलाई दररेट तोक्यो भने घटामा पर्छौ । बजारमा चिनीको अभाव भएर अहिले चिनीको भाउ बढ्यो । चिनी कारखाना खुलेपछि चिनी सस्तो हुन्छ ।’
उखुको मूल्य निर्धारण गर्न प्रत्येक वर्ष उखु किसान प्रतिनिधि र चिनी मिल प्रतिनिधिबीच लामो किचलो चल्छ । तैपनि दीर्घकालीन उपाय खोजिएको छैन । फलस्वरुप महोत्तरीसहित अन्य जिल्लाका लाखौँ किसानहरु समस्यामा पर्ने गर्छन् । विगतको समस्या यस वर्ष खेप्नु नपरोस् भन्दै किसानले चालु सिजनका लागि तुरुन्त मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको उखु उत्पादक कृषक संघ रामनगरका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए ।
उनले भने, ‘गत वर्ष ५ सय प्रतिक्विन्टल पाउने दाउराको रेट बढेर अहिले ८ सयमा पुग्यो । तर किसानले वर्षभरि मेहेनत गरेर उब्जाएको उखुको मूल्य तीन वर्षदेखि बढ्नु सट्टा घट्यो । उखु उत्पादनमा लागत बढ््दै गयो ।’ उखु किसनाहरुमाथि उखु खेती गर्न लगाएर निरन्तर उद्योगपतिले मूल्य निर्धारणको समयमा किसानलाई समस्यामा पारेर अत्याचार गर्दैआएको पीडित उखु
किसानहरु बताउँछन् ।
उखु मूल्य निर्धारणका लागि हुने आन्दोलन, वार्तासहितका गतिविधिले पछिल्लो केही वर्षयता उखु किसानले चर्चा पाएका छन् । उद्योग र किसानबीच रहेको दूरीको फाइदा राजनीतिक दलले उठाउँदा बर्सेनी उखुको मूल्य ओरालो लागेको छ । राजनीति स्वार्थ पूरा गर्न उद्योगपतिसँग नजिक बस्ने किसान नेताकै किचलो र एकअर्कासँग मेल नहुँदा किसान मारमा परेको बताइन्छ ।
चार वर्षअघि उखु किसानले प्रतिक्विन्टल ४ सय ८१ रुपैयाँ ५० पैसाका दरले चिनी मिललाई उखु बेचेका थिए । गत वर्ष उखुमा लागत बढे पनि प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँमा उखु बेच्न बाध्य भएका थिए । यस वर्ष उखु उत्पादनमा किसानहरुले प्रतिबिघा १ लाख २५ हजारदेखि ४८ हजारसम्म खर्चेका किसान नेताहरुले बताएका छन् । गतवर्ष उखु उत्पादनमा प्रतिबिघा १ लाख १५ हजारदेखि २५ हजार लागत लागेको थियो । गतवर्षभन्दा यसवर्ष उखुको लगानी बढेकोले उखुको भाउ बढाउनुपर्ने माग किसानहरुले गरेको नेपाल उखु तथा चिनी विकास समिति (बोर्ड)का अध्यक्ष रामचन्द्र सिंह कुशवाहले बताए ।
उखु किसान र चिनी उद्योगी प्रतिनिधिबीच उखुको मूल्य निर्धारण गर्न बसेको बैठक असफल भएपछि महोत्तरीसहितका अन्य जिल्लाका चिनी मिलको माया मारेर किसानहरु स्थानीयस्तरमा रहेको सख्खर उद्योगलाई कौडीको भाउमा उखु बेच्न थालेका छन् । समयमा चिनी मिल नचल्दा पोहोर साल उखु खेतमै सुकेर किसान घाटामा परे पछि यसपटक उखु किसानहरुले न्युन दररेटमै बिक्री गर्न थालेका हुन् ।
यहाँका किसानको मुख्य आम्दानीको स्रोत उखु खेती नै हो । दैनिक छाक टार्नमात्रै नभएर उखुको आम्दानीले छोराछोरीको पढाइलेखाइ, विवाह, चाडपर्व, लत्ताकपडा खरिद गर्न उखुको आम्दानीमै निर्भर हुनुपरेको बिजलपुराका उखु किसान हरदेव महतोले बताए ।
स्थानीयस्तरमा रहेको सख्खर उद्योगलाई प्रतिक्विन्टल ३ सय रुपैयाँका दरमा अहिले धमाधम उखु विक्री गर्दै आएका छन् । गतवर्ष चिनी उद्योगले प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँका दरले उखु विक्री गरेको उनीहरुले बाध्य भएर कार्तिकको दोस्रो सातादेखि क्विन्टलमा १ सय ४८ रुपैयाँ कम गरी उखु विक्री गर्दै आएका हुन् ।
अहिले स्थानीयस्तरमा सञ्चालित सख्खर उद्योगलाई उखु बिक्री गर्दा समयमै खेत खाली हुँदा त्यसमा नयाँ बाली लगाउन पाउने भएपछि किसानहरुले साविकको मूल्यभन्दा १ सय ४८ रुपैयाँ कम दररेटमा उखु विक्री गर्दै आएको गौशाला नगरपालिकाका किसान रामविलाश साहले बताए ।
यसवर्ष नेपालमा १ करोड ५६ लाख ८६ हजार ६ सय १४ मेट्रिक टन उखु उत्पादनबाट १ लाख ४७ हजार १ सय ४९ मेट्रिक टन चिनी उत्पादन हुने नेपाल उखु तथा चिनी विकास समितिले जनाएको छ । गत वर्ष २ करोड १३ लाख १७ हजार ७ सय १३ मेट्रिक टन उत्पादन भएको उखुबाट १ लाख ९४ हजार ३ सय २० मेट्रिक टन चिनी उत्पादन भएको थियो । गत वर्ष समयमा किसानलाई भुक्तानी नदिएपछि यस वर्ष नेपालमा उखु खेती घटेको हो । गत वर्षको तुलनामा यस वर्ष ५६ लाख ३१ हजार ९९ मेट्रिक टन उखु उत्पादन घट्ने भएको छ । नेपालमा छिट्टो पाक्ने, मध्य पाक्ने र ढिलो पाक्ने गरि तीन थरीको उखु खेती हुन्छ । कस ८४३६, कस ८८२३०, विओ ११० लगायत झन्डै ३७ जातका उखु रोपिन्छ । नेपालको १२ जिल्लामा १५ वटा चिनी उद्योग रहेको भए पनि १३ वटामात्र संचालनमा रहेको छ । पर्सा र नवलपरासीमा रहेको चिनी उद्योग मध्ये एक–एक वटा चिनी उद्योग बन्द रहेको छ ।
प्रतिक्रिया