चितवन, १७ मंसिर । चितवन जिल्लामा एचआइभी एड्सका कारण हुने मृत्युदर घटेको छ । भरतपुर अस्पतालमा रहेर एचआइभी संक्रमितहरूको उपचार तथा परीक्षणमा काम गर्दै आएको एएचएफ नेपालले दिएको जानकारी अनुसार जिल्लामा एचआइभीको संक्रमणबाट हुने मृत्युमा भारी कमी आएको छ ।
सन् २०१५ को नोभेम्बरदेखि २०१६ को नोभेम्बरसम्म जम्मा ३ जनाको मृत्यु भएको छ । सन् २००७ देखि २०१५ को नोभेम्बरसम्म १ सय १६ जना संक्रमितहरूको मृत्यु भएको थियो । त्यसमध्ये सन् २०१० सम्म नै सय जनाको मृत्यु भएको एआरटी सेन्टरका संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए । २०१० पछिका ६ वर्षमा जम्मा १९ जनाको मात्र मृत्यु भएको देखिन्छ ।
जिल्लामा एचआइभी संक्रमितहरूको संख्यामा पनि कमी आएको देखिएको छ । सोही अवधिको तथ्यांकलाई हेर्दा सन् २०१५ को डिसेम्बरदेखि २०१६ को नोभेम्बरसम्म ६१ जना नयाँ एचआइभी संक्रमित पत्ता लागेका छन् ।
सन् २०१४ मा ८३ जना नयाँ एचआइभी संक्रमितहरू थपिएका थिए । भरतपुर अस्पतालको एआरटी सेन्टरमा गरिएको रगत परीक्षणबाट नयाँ रोगी थपिएको एएचएफ नेपालका एआरटी सेन्टरका संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । चितवनमा सन् २००७ देखि हालसम्म १३ सय ४९ जना एचआइभी संक्रमितहरू रहेको पत्ता लागेको छ । ती मध्ये ७ सय ९ जना पुरुष, ५ सय २५ जना महिला र १ सय १३ जना बालबालिकाहरू रहेका छन् ।
भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरबाट ६ सय ७२ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । ती मध्ये ३ सय ८ जना पुरुष, ३ सय ७ महिला र ५७ जना बालबालिकाहरू छन् । चितवन जिल्लामा करिव २ हजार एचआइभी संक्रमितहरू रहेको अनुमान गरिएको छ ।
भरतपुर अस्पताल र एएचएफ नेपालको संयुक्त पहलमा भरतपुर अस्पतालमा एचआइभी संक्रमित तथा नयाँ रोगीहरूको एचआइभी परीक्षण, उपचार, सहयोग र हेरचाह, एचआइभी संक्रमितहरूलाई लाग्ने अवसरवादी रोगहरूको पहिचान र उपचार, सिडी फोर परीक्षण, एआरटी सेवा उपलब्ध हुँदै आएको छ । संक्रमितहरूको संख्या १३ सय ४९ भए पनि सिडी फोर ६ सय ७२ मात्रैले एआरटी सेवा लिएका छन् ।
सिडी फोर ५ सयभन्दा बढी भएकाहरूलाई कर्टि मोक्साजोल नामक औषधि खुवाइन्छ भने, ५ सयभन्दा कम भएकाहरूलाई एआरटी दिइन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका एचआइभी एड्स फोकल व्यक्ति अनुप अधिकारीले जिल्लामा एचआइभीको क्षेत्रमा काम गर्ने ५ वटा एनजिओहरूसँग संयुक्त सहकार्यमा एचआइभी संक्रमितहरूको पहिचान र रोगको उपचार गरिएकाले प्रभावकारीता बढ्दै गएको बताए ।
सन् २०१५ को डिसेम्बरसम्म संसारभरका करिब ३ करोड ६७ लाख व्यक्तिहरूमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा करिब ३९ हजार ३ सय ९७ जना एचआइभी संक्रमित भएको अनुमान छ । नेपालमा १५ वर्षदेखि ४९ वर्षको उमेर समूहमा एचआइभी व्याप्तता दर ० दशमलव २० प्रतिशत छ । अघिल्लो वर्ष एचआइभी संक्रमण दर ० दशमलव ३३ प्रतिशत थियो ।
सन् २०१६ जुलाईसम्म नेपालमा २८ हजार ८ सय ६५ जना एचआइभी संक्रमित पत्ता लागिसकेका छन् । तीमध्ये १२ हजार ४ सय ४६ जना एन्टिरेट्रोभाइरल (एआरभी) औषधि उपचारमा छन् । हालसम्मको तथ्यांकअनुसार नेपालमा करिब ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ ।
प्रतिक्रिया