सोलुखुम्बु, १७ मंसिर । यहाँका बालबालिकाको समय बिहान उज्यालो भएदेखि साँझसम्म बारीमै बित्छ । गाउँभरीका बालबालिका जम्मा हुन्छन् । उनीहरू बारीमै खैल्छन, खाजा त्यहीँ खान्छन् । अनि साँझ परेपछि मात्र घर फर्कन्छन् । भिर र जंगल नजिक रहेको बारीमा लगाइएको बाली जोगाउन सोताङका बासिन्दालाई हम्मेहम्मे पर्ने गरेको छ ।
‘बाली पाक्ने बेलासम्म कहिले स्कुल जाँदैनौँ,’ सोताङ–६ का १२ वर्षीय नौकुवीर नाछिरिङले सुनाए । बारीमा कोदो पाक्न थालेकाले बालबालिका दिनभर बारीमै बस्ने गरेका हुन् । जंगल र भिरको छेउमा रहेको बारीमा बाली पाक्न नपाउँदै हुलका हुल बाँदर आएर बाली नष्ट गरिदिन्छन् । ‘बिहान उज्यालो भएदेखि साँझसम्म बाँदर लखेट्न बारीमै बस्नुपर्छ, ‘सोताङ–६ रोककी तुलीमाया नाछिरिङले भनिन् ।
अभिभावकहरू काम गर्न जानुपर्ने भएकाले बाँदर खेद्ने जिम्मा बालबालिकाको हुने गरेको छ । उनीहरूको वर्षमा आधाभन्दा बढी समय बाँदर खेद्नमै बित्छ । कात्तिक–मंसिरमा कोदो, चैत–वैशाखमा गहुँ जौ, जेठ–असारमा आलु तथा साउन–भदौमा मकैबाली जोगाउनुपर्ने भएकाले बालबालिका सधैँजसो बारीमा बसेर बाँदरको गोठालो लाग्नुपर्छ ।
‘बाँदर खेद्न जानुपर्ने भएकाले विद्यार्थीको पढाइ निकै प्रभावित हुने गरेको छ,’ स्थानीय शिक्षक भूपेन्द्र नाछिरिङले भने । बाली पाक्ने बेलामा विद्यालयमा विद्यार्थीको उपस्थिति अत्यन्तै कम हुने गर्छ । बालबालिका साँझसम्म बाँदर खेद्न जान्छन् भने अभिभावक रातको समयमा भालु तथा दुम्सी खेद्न जानुपर्छ । दुम्सी र भालु धपाउन अभिभावकको बास बारीमै हुने गरेको छ ।
‘बाली भित्राउने समयमा त विद्यालय रित्तै हुन्छ,’ शिक्षक नाछिरिङले भने । बाँदरको ठूलो हुल आएको बेलामा बारीमा थोरै बालबालिका भएमा बाँदरले आक्रमण गर्ने डर रहन्छ । जनावरले गाउँका केही बालबालिकालाई घाइतेसमेत बनाएको छ । ४ वर्षअघि बाँदरको आक्रमणबाट १ बालकको मृत्यु भएको शिक्षक नाछिरिङले बताए ।
प्रतिक्रिया