दाङ, १६ मंसिर । लैंगिक हिसाविरुद्ध निडरताका साथ लडेको भन्दै बोक्सीको आरोपमा कुटिएकी ६५ वर्षीया दिव्या चौधरीलाई सम्मान गरिएको छ ।
चौधरीको घर धनौरी गाविस–१ चिलहरियामा पुगेर अधिकारकर्मीहरूले एक समारोहबीच उनलाई अबिर र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । गत वैशाख ८ गते छिमेकी हरी चौधरीले दिव्यालाई बोक्सीको आरोप लगाउँदै कुटपीट गरेका थिए ।
जिल्ला अदालतले हरीलाइ दोषी ठहर गरी ६ महिना कैद गर्ने फैसला गरेको छ तर उनी अझै फरार रहेका छन् । पीडित चौधरीको परिवारले अझै पनि समाजमा बस्न डर लागेको, पुनः सोही घटना दोहोरिने सक्ने भन्दै गुनासो पोखेका छन् । पीडितकी बुहारी गीता चौधरीले सम्मान गरेर आफूलाई ठूलो मनोबल पुगेको तर आमालाई मनोवैज्ञानिक असर परिरहको बताइन् ।
आफू पीडित हुँदा समाजले साथ नदिएको आफैँ एक्लैको प्रयासले तत्काल आमालाई उपचारमा लगेको बुहारी गीता चौधरीले बताइन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयका संयोजक मुरारी खरेलले अझै पनि समाजमा वृद्धा तथा एकल महिलाहरूलाई बोक्सीको आरोप लगाई कुटपिट गरेको पाइएको उल्लेख गर्दै यसलाई रोक्नका लागि राज्यले नै पीडकलाई कडा कारवाही गर्नुपर्ने बताए । उनले सहर बजारभन्दा गाउँघरमा यस्तो घटनाहरू बढी हुने भन्दै यस्तो अन्धविश्वास नगर्नसमेत आग्रह गरे । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सुदीप गौतम, उपाध्यक्ष लक्ष्मी आचार्यलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया