उदयपुर, १५ मंसिर । उदयपुरको कटारी क्षेत्रमा लुकाएको अवस्थामा सालका काठहरू बरामद गरिएको छ । जिल्लाको कटारी नगरपालिका–६, हडैयाबाट हजार क्युफिटभन्दा बढी काठ सेक्टर वन कार्यालय कटारीले बरामद गरेको हो ।
वन कार्यालयले सुराकीको आधारमा गाउँमा रहेको पानी पोखरी र खाल्डोमा आइतबारदेखि छापा मार्दा सालका गोलिया बरामद गरेको छ । गाउँमा रहेको पानी पोखरीमा डुबाएर र खाल्डो खनेर लुकाइराखेको अवस्थामा काठ बरामद गरिएको वन कार्यालयका निमित्त प्रमुख सहायक वन अधिकृत परमेश्वर यादवले बताए । ‘गाउँमा अझै छापा मार्ने क्रम जारी छ’ यादवले भने,
‘अहिले शंकास्पद प्रत्येक पोखरीमा हेर्ने काम भइरहेको छ ।’ गएको दसैंअघि गाउँ नजिकैको घाटगद्दी रहेको साल जातको १४ सय क्युफिट काठ लगत संकलन गरी बरामद गर्दागर्दै चोरी भएको थियो । उक्त काठ अहिले सोही गाउँमा लुकाइएको हुन सक्ने आशंकामा गाउँमा कार्यालयले छापा मारेको वन कार्यालयले बताएको छ ।
छापा मार्ने क्रममा लगत संकलन गरिएको काठ पोखरीमा डुबाएर राखिएको भेटिएको थियो । वन कार्यालयका वनरक्षक र नेपाल प्रहरीको संयुक्त टोलीले गाउँमा छापा मार्दा लगत संकलन नगरिएको काठसमेत फेला परेको टोलीले जनाएको छ ।
हरियो साल जातको काठ नम्बरी आवादीमा रहे पनि विनास्वीकृति काट्न पाइदैन । तर, सो क्षेत्रमा जंगलमा हरियो काठ काटेको पाइएपछि वनले लगत संकलन गर्न पनि सुरु गरेको छ । काठ कसले काटेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको निमित्त प्रमुख यादवको भनाइ छ । अहिले छापा मार्ने र फेला परेका अवैध काठ कार्यालयमा संकलन गर्ने क्रम जारी रहेकाले काठ संकलन गरिसकेपछि अनुसन्धान अघिबढाउने पनि यादवले बताए ।
प्रतिक्रिया