रौतहट, २४ कात्तिक । शिक्षाको महत्व बुझेपछि रौतहटका ग्रामीण क्षेत्रका मुस्लिमहरूले छोरासरह छोरीलाई पनि विद्यालय पठाउन थालेका छन् ।
जिल्लाको सहरी क्षेत्रका शिक्षित परिवारले छोरीलाई पढाए पनि अधिकांश मुस्लिम बालिका विद्यालय शिक्षाबाट वञ्चित थिए । ग्रामीण क्षेत्रका अधिकांश मुस्लिम समुदायमा छोरीलाई घरको कामधन्दामा लगाउने चलन रहेकोमा रौतहट राजपुर फरहदवाका मुस्लिम समुदायले भने छोरीलाई विद्यालय पठाएर शिक्षाको अवसर प्रदान गरेका छन् ।
छोरा र छोरीमा विभेद गर्न नहुने भन्दै अभिभावकले छोरीलाई समेत विद्यालय पठाउन थालेपछि राजपुरका किशोरी तथा बालिकहरू निकै खुसी देखिन थालेका छन् । करिब ५ वर्षअघि समुदायकै सहयोगमा राजपुर फरहदवामा सुरु गरिएको जामिया खादिजातुल कुब्रा विद्यालयमा रौतहटको राजपुर मात्रै नभएर बारा र सर्लाही जिल्लाका मुस्लिम छात्राहरूले निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् ।
छात्राहरू अध्ययन गर्ने उक्त विद्यालयको छात्रावासमा १ सय ५० छात्राहरू बस्छन् । विद्यालयमा ४ सय छात्रा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कारी सहाबुद्दिनले जानकारी दिए । विद्यालयमा उर्दूसहित नेपाली र अन्य विषयहरूको पनि पढाइ हुने गरेको छ ।
मुस्लिम समुदायको बाक्लो वस्ती रहेको राजपुर फरहदवामा सञ्चालित यस विद्यालयमा छात्रावाससमेतको व्यवस्थाका कारण बालिकाहरूलाई पढाउन सजिलो भएको अभिभावकहरूको अनुभव छ ।
समुदायबाट संकलित रकम र विभिन्न स्थानबाट आउने चन्दाले नै विद्यालय सञ्चालन भइरहेकामा सरकार वा जिल्ला शिक्षा कार्यालयले पनि सहयोग गर्नुपर्ने प्रधानाध्यापक कारी सहाबुद्दिनको माग छ ।
बालिकाहरूलाइ पूर्ण सुरक्षित र व्यवस्थित वातावरणमा शिक्षाको व्यवस्था भएपछि अभिभावकहरू पनि जागरुक भएको र बालिका शिक्षाप्रति आकर्षित भएको मुस्लिम अगुवा हाजी जिकरुल्लाहले बताए । यस छात्रा विद्यालयमा जथाभावी कुनै पनि बाहिरी व्यक्तिको प्रवेश नहुने र आधारभूत शिक्षामा जोड दिने भएकोले पनि मुस्लिम परिवार शिक्षाप्रति आकर्षित भएको उनले बताए ।
सरकारले पनि मदरसा र मुस्लिम बालिका पढने विद्यालयहरूलाई सहयोग गर्नुपर्ने तथा उर्दू भाषाको शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता रहेको मुस्लिम अगुवाहरूको धारणा छ ।
अभिभावकको निगरानीमा रहने मुस्लिम बालिकाहरूलाई परिवारले अनुशासनभित्र बस्न सिकाएका हुन्छन् । आधुनिक सभ्यता भन्दा पनि आफ्नै धार्मिक र सामुदायिक जीवनशैलीमा रहने मुस्लिम बालिकाहरूको रौतहटका सरकारी विद्यालयमा समेत त्यति राम्रो उपस्थिति छैन । समुदाय बाहिरको विद्यालयमा उर्दू भाषा पढाइ नहुनु, भाषा र शैली नमिल्ने भएका कारण पनि आवासीय तथा सामुदायिक विद्यालयमा मुस्लिम समुदायका सीमित छात्राहरू मात्रै अध्ययनरत छन् ।
प्रतिक्रिया