ऐतिहासिक मझुवागढी पुग्न पदमार्ग

खोटाङ, २ कात्तिक । जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।

जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल परियोजनाको आर्थिक तथा जिल्ला प्राविधिक कार्यालय खोटाङको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भूपराज राईले बताए । अध्यक्ष राईका अनुसार हाटडाँडादेखि चार खण्ड गरेर क्रमिक रूपमा ३ आर्थिक वर्ष लगाएर फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा सहज भएको गढी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष बबी चाम्लिङले बताए ।

सदरमुकाम दिक्तेलबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने गढीलाई संरक्षण र विकास गर्न परियोजनाले ४० लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । ३ वर्षअघिदेखि निर्माणको काम थालिएको पदमार्ग हालै सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए । समुद्री सतहदेखि करिब २ हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीमा १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर जंगलले घेरिएको सो गढीमा अहिले दैनिक ५०÷६० जना आन्तरिक पर्यटक घुम्न र विभिन्न ठाउँको दृष्य अवलोकन गर्न आउने गरेका छन् ।

गढी परिसरमा पर्यटकका लागि वर्षाको समयमा बस्ने पाल तथा पानीको व्यवस्थासमेत मिलाइएको छ । मझुवाको अर्थ माझ भन्ने बुझिन्छ । मझुवा गढीको पश्चिम दिशामा महुरेगढी, हाल नुनथला गाविसमा रहेको छ । त्यस्तै, पूर्वमा चुइचुम्वागढी याम्खा गाविसमा पर्छ भने, दक्षिणमा खाम्तेल गढी हाल राजापानी गाविसमा रहेको छ । चारैतिर गढी रहेको मझुवा बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकार बताउँछन् । गढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । गढीमा हरेक वैशाख पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ ।

प्रतिक्रिया