बालिका संसद्मा नीति तथा कार्यक्रम पास

5639065682b3cकाठमाडौं, २१ असोज । बालिका ‘राष्ट्रपति’ सञ्जु महर्जनले ‘बालिका संसद्’ समक्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसको एक प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिन् । राष्ट्रिय किशोरी सञ्जालले देशभरका बालिकाहरूको समस्याबारे विमर्श गर्न बिहीबार राष्ट्रपति भवन शीतल निवासमै बालिका संसद्को बैठक राखेका थिए ।

संसद्मा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसद सबैको भूमिकामा बालिकाहरू नै थिए र यी सबै दृश्य राष्ट्रपति विद्यादेवी भण्डारी गम्भीरतापूर्वक हेरिरहेकी थिइन् । बालिका संसद्ले देशभरका बालिकाका समस्या समाधानका विषयमा ‘नीति कार्यक्रम’ पारित गरेपछि राष्ट्रपति भण्डारी बालिकाहरूसँग अनौपचारिक रूपमै प्रस्तुत भइन् । त्यसपछि त्यहाँको वातावरणले औपचारिक सीमा तोडेर भावनात्मक रूप लियो ।

बालिकाहरूका समस्याबारे बोल्दै गरेकी राष्ट्रपति भण्डारीका हातमा कुनै लिखित मन्तव्य थिएन । उनले किशोरीहरूलाई नानीहरू भनेर सम्बोधन गरिन् र राजनीति, समाज, रीतिरिवाज, संस्कृति तथा राष्ट्रियताबारे दार्शनिक तहमै उत्रेर प्रवचन दिइन् । केहीबेरअघि बालिका संसद् सञ्चालन गर्दा पोखराकी किशोरी मोनिका रानाभाटले देशले महिला राष्ट्रपति पाउँदा गौरवानुभूति प्रकट गरेकी थिइन् । राष्ट्रपति भण्डारीले त्यसलाई इंगित गर्दै कुनै एउटा लिंग, जाति, धर्म वा पक्षको नभएर समग्र सभ्यताको नेतृत्व गर्न किशोरीहरूलाई सुझाव दिइन् ।

नानीहरू !, हामी महिला राष्ट्रपति भनेर गौरव गर्छाैं, यो जातिको मान्छे यो पदमा पुग्यो भनेर गौरव गर्छाैं । तर, कुनै एउटा लिंग, वर्ण जाति र धर्मको होइन सिंगो सभ्यताको नेतृत्व गर्नुपर्छ । हेर्नुस् त ! हामीलाई वनजंगल चाहिन्छ, ढुंगा, माटो, चराचुरुंगी सबै चाहिन्छ । सबै कुराको रक्षा गर्न ती सबैको नेतृत्व गर्नुपर्छ’ राष्ट्रपति भण्डारी दार्शनिक तहमा उत्रेर बोल्न थालिन्, ‘तपाईंहरू बालिका हुनुहुन्छ, म पनि बालिका थिएँ, अहिले प्रौढ भएँ । एउटा राम्रो मान्छे बन्न कति संघर्ष गर्नु पर्छ तपाईंहरू प्रौढ हुने बेलासम्म थाहा पाउनुहुन्छ ।’ नेतृत्व विकासका लागि लिंग, जाति, क्षेत्रभन्दा माथिको विराट रूप देख्न सक्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

‘जुनसुकै जातिको होस्, जुनसुकै लिंगको होस् र जुनसुकै धर्मको होस्, दुःखको अनुभूति उस्तै हुन्छ’ राष्ट्रपति भण्डारीले भनिन्, ‘महाभारतमा विराटरूपको चर्चा छ, त्यस्तै नेतृत्वको विकासका लागि यसको विराट रूप हेर्न सक्नुपर्छ । अनि, त्यो समग्र समाजको नेता हुन्छ ।’

राष्ट्रपति भण्डारी बोल्दै जाँदा बालिकाहरू थप मुग्ध भए । समाजमा छोरीलाई हुने पक्षपात हटाउन कानुनले मात्र नसक्ने राष्ट्रपति भण्डारीले वताइन् । ‘कानुनले वर्जित गरेका प्रचलन पनि समाजमा छन्, त्यसलाई पनि हेर्नुपर्छ । ‘छोरीको जन्म हारेको कर्म’ भन्ने उखान यही समाजमा चलिरहेको छ, यो अँध्यारो हो र यसलाई हटाउन चेतना जगाउनु पर्छ’ राष्ट्रपति भण्डारीले भनिन्, ‘उज्यालोको सिर्जना गरेर हेर्नुस् त अँध्यारो आफैँ हट्न बाध्य हुन्छ ।’ छोरी जन्मने थाहा पाएपछि गर्भपात गर्ने कुरीति लर्तरो संघर्षले नहट्ने वताउँदै राष्ट्रपति भण्डारीले गर्भपात रोक्न महिला पनि दृढ हुनुपर्ने वताइन् ।

‘तपाईंहरूको नीति तथा कार्यक्रम हेरेँ, तपाईंहरूको मनोभावना पनि बुझेँ तर, छोरीलाई जन्ममै रोक लगाउने चलन हटाउन आमा पनि दृढ हुनुपर्छ’ समारोहमा उपस्थित भएका विभिन्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘तपाईंहरूले पनि हेर्नुभयो, ‘कानुनका दफाहरूले अन्यायमा परेकालाई तृप्ति दिँदैन, सामाजिक न्यायका लागि तपाईंहरूको पनि सकारात्मक भूमिका चाहिन्छ अब त्यसका लागि भूमिका खेल्नुस् ।’

समाजमा राजनीतिप्रतिको धारणा नकारात्मक बन्दै गएको औँल्याउँदै राष्ट्रपति भण्डारीले राजनीतिलाई पेसा नभएर सेवा बनाउनु पर्ने बताइन् । ‘राजनीति पेसा होइन सेवा हो तर, अहिले नेता हुनु भनेको पैसा कमाउनु भन्नेजस्तो भएको छ’ राष्ट्रपति भण्डारीले भनिन्, ‘नेताले राजनीतिबाट धन सम्पत्ती होइन सम्मान पाउने चलन बसेपछि राजनीति संग्लो हुन्छ । नेताले दुःख पर्दा जनताबाटै सहयोग पाओस्, मर्दा धेरै मलामी पाओस् । सम्मान पाउने राजनीति गर्न सजिलो छैन, यही असजिलो बाटोले समाजलाई सजिलो ठाउँमा लैजाने हो ।’

प्रकृतिको सन्तुलनका लागि पनि छोरीको जन्मलाई रोक लगाउन नहुने राष्ट्रपति भण्डारीले वताइन् । ‘कसैका छोरै छोरा होलन्, कसैका छोरी नै छोरी होलन् यसले केही फरक पर्दैन, प्रकृतिले आफैं सन्तुलन मिलाउँछ’ राष्ट्रपति भण्डारीले भनिन्, ‘प्रकृतिको सन्तुलनलाई अस्वीकार गर्यौं भने हामी छोरा वा छोरीको आग्रहमा दुःख मात्रै जन्माउँछौँ । आधुनिक राज्यमा आमाले छोरा वा छोरी होइन नागरिक जन्माउँछिन् भन्ने बुझ्नुपर्छ ।’

छोरी भएर जन्मेकोमा गौरव गर्न किशोरीहरूलाई राष्ट्रपतिले आग्रह गरिन् । ‘तपाईंहरू छोरी भएर जन्मेकोमा गौरव गर्नुस्, नेपालमा जन्मेकोमा गौरव गर्नुस् र यो देशको माटोको रक्षा गर्न जे जे गर्नु पर्छ पछि नपर्नुस्’ राष्ट्रपति भण्डारीले भनिनु, ‘छोरी आधुनिक राज्यमा नागरिक हो, उसको नागरिक दायित्व हुन्छ, त्यसलाई इमानदार भएर निर्वाह गर्नुस् ।’

राष्ट्रपति भवन शीतल निवासमा भएको राष्ट्रपतिसँग बालिका कार्यक्रममा ललितपुरकी सञ्जुलाई राष्ट्रिय किशोरी सञ्जालले केहीबेरका लागि राष्ट्रपति चुनेको थियो भने दोलाखाकी आश्मा बस्नेतलाई प्रधानमन्त्री चुनेको थियो । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर २१ जिल्लाबाट निर्वाचित ४० बालिका सांसद बालिका संसद बैठकमा सहभागि थिए । बालिकासँग राष्ट्रपति कार्यक्रम सञ्चालनका लागि उनीहरू शीतलनिवास आएका थिए । आफ्नो कार्यक्रममा राष्ट्रपति भण्डारीको सहभागिताले उनीहरू निकै उत्साहि देखिन्थे । ‘किशोरीहरूको समस्याबारे राष्ट्रपतिको यति धेरै चासो देखेर खुसी भएका छौँ’ पोखराकी मोनिका रानाभाटले भनिन्, ‘उहाँले जीवनका धेरै विषयमा हामीलाई प्रेरणा दिनुभयो ।’

प्रतिक्रिया