हनुमानढोकामा राज्यका तर्फबाट घटस्थापना

काठमाडौं, १६ असोज । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीको महान् चाड बडादसैँ घटस्थापना गरी शनिबारबाट सुरु भएको छ । घटस्थापनाका लागि नेपाल पञ्चांग निर्णायक समितिले बिहान ८ बजेर ३५ मिनेटको साइत निकालेको थियो । बडादसैँ पर्व शनिबारदेखि आश्विन शुक्ल पूर्णिमा अर्थात् २९ असोज कोजाग्रत पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।

बडादसैँको पहिलो दिन शनिबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । शनिबारदेखि दसैँघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आराधना गरी पूजा सुरु भएको छ । शनिबार बिहानै नित्यकर्म सकी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लितपोत गरिएको पूजा कोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोपेपछि दसैँ सुरु हुन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले शनिबार जौ रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले बताए ।

दुर्गा देवीका तीन रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा पनि शनिबारबाट सुरु भयो । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गापक्षको पहिलो दिन शनिबार शैलपुत्री देवीको विशेष पूजा गरिएको छ । नौ दिनसम्म नौवटी देवीको पूजा गर्ने विधि छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ गरिने क्रम पनि शनिबारबाटै सुरु भएको छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो सुरु भएको छ ।

शनिबार बिहान समितिले दिएको साइतमा हनुमानढोका दरबारको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी यव रोपण गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख सरस्वती सिंहले जानकारी दिइन् ।

‘हनुमानढोकामा राज्यका तर्फबाट घटस्थापना गरी जमरा राखिएको छ, यहाँ राखिएको जमरा विजयादशमीका दिन राष्ट्रपतिकहाँ लगिन्छ, यहाँको जमरा लैजान चाहने विशिष्ट श्रेणीका कर्मचारीकहाँ पनि दिइन्छ, लैजान चाहने सर्वसाधारणका लागि विजयादशमीका दिन दरबारको ढोकामा जमरा राखिन्छ’ उनले भनिन् ।

हनुमानढोकामा शनिबारैैदेखि नवरात्रभर विधिपूर्वक राज्यका तर्फबाट दुर्गा देवीको आह्वान गरी पूजा गर्ने परम्परा छ ।

प्रतिक्रिया