सतर्कता केन्द्र उपसचिवको भरमा

satarkarta-kendraकाठमाडौं, १६ असोज । राष्ट्रिय सतर्कता केन्द्रको नेतृत्व नेपाल सरकारका सचिवस्तरका कर्मचारीले गर्ने गर्छन् । यतिबेला सतर्कता केन्द्रका सचिव र अन्य दुई उच्च अधिकारी विदेश भ्रमणमा गएपछि उपसचिवका भरमा सतर्कता केन्द्र चलिरहेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामानन्दप्रसाद यादव, सहसचिव विष्णुराज लामिछाने र डिआइजी रोशननाथ पन्त मलेसिया गएका हुन् । सोमबारदेखि मलेसिया गएका सचिवसहितका कर्मचारीहरू आइतबार मात्रै कार्यालय आउने सतर्कता केन्द्रका एक कर्मचारीले बताए । यसरी एकैपटक तीनजनै उच्च अधिकारी विदेश गएपछि सतर्कता केन्द्र उपसचिवको भरमा चलेको छ ।

सतर्कता केन्द्रमा सयको हाराहारीमा कर्मचारी छन् । ‘हामीलाई जिम्मेवारी दिइको छैन, अनि कसरी काम गर्ने ? के काम गर्ने ?,’ एक कर्मचारीले बताए । सतर्कता केन्द्रले राष्ट्रपति, प्रधानमन्त्री, अख्तियारका प्रमुख आयुक्तसम्मको सम्पत्ति विवरण छानविन गर्न सक्छ । यसले कारबाही गर्ने अधिकार भने राख्दैन ।

यतिधेरै अधिकार हुँदा पनि काम नगरी बस्नुपर्ने अवस्थामा पुगेको कर्मचारीहरूको गुनासो छ । सार्वजनिक निकायहरूबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी संकलन गर्ने, सार्वजनिक निकायहरूबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव, निर्देशन दिने सतर्कता केन्द्रको मुख्य जिम्मेवारी हो ।

त्यस्तै, सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन गर्ने । विकास निर्माणका योजनाहरूमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राविधिक परीक्षण गर्ने । भ्रष्ट्राचार निवारणका लागि जिल्लास्तरमा जनचेतनामूलक गोष्ठी तथा अन्य प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने काम पनि सर्तकता केन्द्रले गर्छ ।

वर्षको एकपटक सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाउनेबाहेक अरू काम नभएको समेत कर्मचारीहरू बताउँछन् । ‘हामी देशभर अनुगमनका लागि जान तयार छौँ तर हामीलाई कार्यालयमा खुम्च्याउने मात्रै काम भएको छ’, ती कर्मचारीले भने ।

कुनै कार्यालयमा अनियमितता भएका घटनालाई मिडियामार्फत सार्वजनिक गरेमा देशभरका कर्मचारीहरू सचेत हुने कर्मचारीहरूको बुझाइ छ । ‘दसैंको बेलामा बजार अनुगमनमा मात्रै पठाए पनि जनताले ठूलो राहत पाउने थिए । तर, यस्ता काममा कर्मचारी नेतृत्वको कुनै चासो छैन,’ कर्मचारीहरू भन्छन् । काम नभएकै कारण पछिल्लो चौमासिक प्रगति उल्लेखनीय हुन नसकेको कर्मचारीहरूको गुनासो छ ।

उजुरी छानविन गरेर कारबाही नहुने भएपछि पहिला–पहिलाजस्तो उजुरी पनि आउन छोडेको कर्मचारीहरूको अनुभव छ । ‘हामीले ल्याएका कतिपए फाइलहरू त छानविन गर्नको साटो यसै गायब पार्ने मात्रै काम हुन्छ,’ ती कर्मचारीले गुनासो गरे । सतर्कता केन्द्र भाँचिएको हलोजस्तो भएको भन्दै ती कर्मचारी भन्छन्, ‘अब कि त सतर्कता केन्द्रको औचित्य छैन भन्नुप¥यो कि यसको नयाँ मोडालिटी बनाउनुप¥यो ।’

सर्तकता केन्द्रको थुप्रै जिम्मेवारी र अधिकार भएको भए पनि यसलाई चलाउन नजान्दा कर्मचारी थन्क्याउने ठाउँ मात्रै बनाइएको कर्मचारीहरूको अनुभव छ । ‘भ्रष्टाचारविरुद्धको अभियानका लागि आउने अन्तरर्राष्ट्रिय सहयोग लिन मात्रै सतर्कता केन्द्र सञ्चालन गरिएको छ,’ कर्मचारी भन्छन् ।

प्रतिक्रिया