एलडिओ सरुवामा ‘हेडक्वाटर’को हस्तक्षेप

sanghiya-mamilaकाठमाडौं, १५ असोज । स्थानीय विकास मन्त्रालयअन्तर्गत एलडिओहरूको सरुवासम्बन्धी सूचीलाई अन्तिम रूप दिन बोलाइएको बैठकमा प्रधानमन्त्रीका भाइ नारायण दाहालको नेतृत्वमा केही अनाधिकृत व्यक्ति प्रवेश गरी हस्तक्षेप गर्दा स्थगित भएको छ ।

कुनै सरोकारै नभएका व्यक्तिहरू बैठकस्थलमा प्रवेश गरी ‘हेडक्वाटर’ बाट आएको भन्दै हस्तक्षेप गर्न खोजेपछि राज्यमन्त्री श्रीप्रसाद जबेगुले बहिस्कार गरेका छन् । सिंहदरबारस्थित स्थानीय विकास मन्त्रालयमा शुक्रबार बोलाइएको बैठकमा अपरिचित व्यक्तिहरू छिरेर छापामार शैलीमा हस्तक्षेप गरेको भन्दै राज्यमन्त्रीले बहिस्कार गरेका हुन् ।

‘बैठकमा नराम्रो घटना भयो, त्यसैले सरुवा प्रक्रियामाथि नै असहमति जनाउँदै राज्यमन्त्रीज्यू निस्कनुभएको हो,’ राज्यमन्त्री जबेगुका स्वकीय सचिव रघुनाथ गौतमले भने, ‘केही मानिसहरू ‘हामी हेडक्वार्टरबाट आएका हौँ’ भन्दै बैठक कक्षमै प्रवेश गरे ।’

बैठक कक्षमा हेडक्वार्टरको नाम लिँदै दलालहरू छिरेपछि राज्यमन्त्री जबेगु कर्मचारीको सरुवामा माथिबाटै सेटिङ मिलाइने हो भने मन्त्री हुनुको अर्थ छैन भन्दै राजीनामा दिने चेतावनीसहित मन्त्रालयबाट बाहिरिएको एक कर्मचारीले बताए । बैठक बहिस्कार गरेर हिँडेपछि राज्यमन्त्री जबेगुको मोबाइल फोन स्विच अफ छ ।

एलडिओहरूको सरुवामा कसरी आर्थिक कारोबार हुन्छ र त्यसमा विचौलियाहरूले मन्त्रीलाई कसरी बाइपास गर्छन् भन्ने शुक्रबार सिंहदरबारमा देखिएको छ । स्रोतका अनुसार यो घटनामा स्थानीय विकासमन्त्री हितराज पाण्डेसमेत असन्तुष्ट बनेका छन् । पाण्डे माओवादीभित्र सादगी नेताका रूपमा चिनिन्छन् ।

मन्त्री पाण्डेले सरुवा–बढुवामा आर्थिक चलखेलको विरोध गरेकै कारण उनी पोखरा भएका बेला एलडिओ सरुवाको सूची फाइनल गर्ने बैठक डाकिएको स्रोतले बतायो ।

एलडिओ सरुवाका लागि बोलाइएको बैठकमा स्थानीय विकासमन्त्री हितराज पाण्डे उपस्थित थिएनन् । उनी पोखरामा रहेकाले बैठकमा अनुपस्थित भएका हुन् । मन्त्री पाण्डेको साटो राज्यमन्त्री जबेगु उपस्थित थिए । बैठकमा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र सहचविव चक्रबहादुर बुढासमेत थिए । त्यसैगरी मन्त्री पाण्डेका निजीसचिव होमनाथ भुसाल र स्वकीय जगन्नाथ खनाल पनि उपस्थित थिए । मन्त्री पाण्डेका सल्लाहकार बताउने माधव सापकोटा पनि थिए । बैठकमा राज्यमन्त्री जबेगुका स्वकीय सचिव रघुनाथ गौतम पनि थिए ।

बैठकमा राज्यमन्त्री जबेगुलाई माओवादी कार्यकर्ताले तपाईं को हो ? म तपार्इंलाई देखाइदिन्छु भन्दै थर्काएपछि जबेगुले म राज्यमन्त्री हुँ, तपाईचाँहि को हो भन्ने प्रश्न गरेका थिए ।

मोरङका एलडिओ र डोलिडारका सस्पेन्स ब्रिजमा कार्यरत हाकिमलाई यथावत राख्ने कि सरुवा गर्ने भन्नेबारे माओवादी सिन्धुपाल्चोकका अध्यक्ष माधव सापकोटा र राज्यमन्त्री जबेगुबीच भनाभन भएको स्रोतले बतायो । दुबै सरुवामा सापकोटाले अनावश्यक हस्तक्षेप गरेको भन्दै राज्यमन्त्री जबेगुले आपत्ति जनाएका हुन् ।

‘मन्त्रालय त दलालहरूले घेरिएको रहेछ, माथिबाटै सबै सेटिङ मिलाएर मन्त्रीलाई कामै गर्न दिइन्नरहेछ,’ राज्यमन्त्री जबेगुको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो स्थितिमा अब मन्त्री बनिरहनुको के अर्थ रह्यो ?’

प्रतिक्रिया