काठमाडौंमा ‘हार्वर ब्रिज’जस्तै पुल !

काठमाडौ, १२ असोज । काठमाडौंमा थप दुइवटा अर्कषक पुल बन्ने भएको छ । सिड्नीको ओपेरा हाउसको पृष्ठिभूमिमा देखिने हार्वर ब्रिजको डिजाइनमा आकर्षक पुल बन्न लागेको हो । योजनाअनुसार लगातार काम हुने हो भने अबको झन्डै डेढ वर्षमा उक्त अत्याधुनिक र आकर्षक पुल काठमाडौंको बिजुलीबजारमा ठडिनेछ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुली बजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको छ । यो नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ हुनेछ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो हुनुको साथै सन्दरता प्रद्र्धनको पक्षले पनि उत्कृष्ट हुने आयोजनाका इञ्जिनियर बिरेन्द्रकुमार यादवले बताए ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार बिजुलीबजार र तिनकुनेमा अहिले रहेको पुलको दायाँ र बायाँ ४ वटा पुल बन्नेछन् । धोबीखोलामा पुल निर्माणका लागि काम सुरु भइसकेको छ भने बाग्मती नदीमा बन्ने पुलको डिजाइन स्वीकृतिको अन्तिम चरणमा छ । दुबै स्थानमा पुल निर्माणका लागि ठेक्का भने स्वीकृत भइसकेको बताइएको छ ।

उक्त स्थानमा अहिले रहेको पुललाई यथावत राखी सडकको सर्भिस लेनमा दुबैतर्फ आर्क पुल जडान गरिने छ । पुल निर्माण भएपछि सर्भिस लेन (मूल सडकको दायाँ बायाँको लेन) बाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने छैन । र, दायाँ बायाँतर्फका सर्भिस लेनमा सार्वजनिक सवारीको चाप बढी हुन्छ ।

माइतीघर–तीनकुने सडकखन्डका सर्भिस लेनहरू नयाँ पुलसँगै जोडिनेछन् । अहिले सर्भिस लेनमा आएका सवारी पनि पुल हुँदै वार–पार गर्छन् । र, पुनः मोडिएर सर्भिसलेनमा लैजानुपर्ने बाध्यता छ । यो बाध्यतालाई अब बन्ने ४ वटा पुलले हटाइदिने इञ्जिनियर यादवले बताए ।

‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरू भन्दा फरक प्रवधिको हुन्छ । यी पुलहरू आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै भिन्न खालको हुनेछ । यसलाई निर्माण गर्दा सुरुमा खोला र खोल्साको वारी पारी सडकको चौडाइँ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात बलियो जगसहितको संचरना निर्माण गरिने जनाइएको छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो ।

आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीचबीचमा पिल्लर प्रयोग नगरीने जनाइएको छ । पिल्लरविनाको भए पनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारी–पारी आर्क फिक्सिङ गरिन्छ । र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ । आर्कलाई ‘अब्युटमेन्ट’ मा जोडिनेछ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स हुनेछ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’ मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्नेछ ।

पुलको भागलाई आर्कले थेग्ने हुदाँ पिल्लर नभए पनि उक्त प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो हुने जनाइएको छ । साथै खोलाको बीचमा पिल्लर ठड्याउनु नपर्ने हुँदा कम खर्चमा तयार हुनेछ । पुलमा आरसीसी प्रविधिबाट आर्क बनाइने र पुलको सडक भागमा पीच वा आरसीसी नै गरिनेछ ।

आयोजनाका अनुसार बिजुलीबजारको पुलको लागत १२ करोड रूपैयाँ हुनेछ । त्यस्तै बागमती नदीमा बन्ने पुल २१ करोड रूपैयाँमा तयार हुनेछ । बिजुली बजारको पुल ५० मिटर लामो हुने र उक्त निर्माणको जिम्मा जेइ कन्सट्रक्सनलाई दिइएको छ । बाग्मती पुलको लम्बाइ ८५ मिटर लामो हुन छ । यसको निर्माण पप्पु कन्सट्रक्सनले गर्नेछ । यसमा पनि बिजुली बजारको जस्तै सर्भिसलेनसँग जोडेर दुईवटा आर्क ब्रिज हालिनेछ ।

पुलको छेउँतर्फ फुटपाथ बजारको व्यवस्था हुने हुँदा पैदलयात्रुलाई हिँड्न सहज हुनेछ । एउटा आर्क ब्रिज १० मिटर फराकिलो हुनेछ । यसअनुसार दुवैतर्फ ब्रिज हाल्दा पुलको चौडाइ अहिलेको भन्दा २० मिटर फराकिलो हुनेछ । बिजुलीबजारको पुल ०७४ साल माघसम्म निर्माण सम्पन्न भएर सञ्चालनमा आउने आयोजनाको विश्वास छ ।

यो पुल निर्माणपछि शहरी सौन्दर्यता बढने विश्वास गरिएको छ । विश्वका धेरै शहर हुँदै बग्ने नदीमा यस्ता पुलहरू बनेका छन् । यसले शहरको सौन्दर्यतालाई बढाउन मद्दत गर्ने भएकाले नै यो प्रविधिलाई काठमाडौंबाट सुरु गरिएको इञ्जिनियर यादव बताउँछन् । यी पुलका आर्कमा ‘कलरफुल लाइट’ जडान गर्ने योजनासमेत रहेको छ । यसले सडक झिलिमिलि हुनुको साथै पुललाई आकर्षक देखाउनेछ । दुबै पुल निर्माणपछि बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्रमा ट्राफिक जामको समस्या कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया