मान्छे विदेशमा जागिर नेपालमा !

काभ्रे, १२ असोज । खड्ग हुमागाईं वर्षौं अगाडिदेखि अमेरिका छिन् । विश्वास गर्नुहुन्न होला, उनी अहिले पनि नेपाल सरकारअन्तर्गतको हुलाक सेवाका कर्मचारी हुन् । सरकारी कागजातमा उनी अहिले पनि पनौतिस्थित अतिरिक्त हुलाकमा कार्यरत कर्मचारी हुन् । उनका पति टंकप्रसाद हुमागाईं पनि अतिरिक्त हुलाककै कर्मचारी हुन् । उनले नै पत्नी खड्ग हुमागाईंको दस्तखत गरेर हाजिर बचाइदिने र तलब पनि बुझ्ने गरेको खुलेको छ । उनी २८ वर्षदेखि हुलाकमा कार्यरत छन् ।

यति मात्र होइन, वषौँदेखि अमेरिका रहँदै आएकी खड्ग र टंकप्रसादका एकाघरका सदस्य सबै हुलाकमा नै छन् । उनको छोरा मनिष, बुहारी, छोरी र ज्वाइँसमेत सबै हुलाकका कर्मचारी हुन् । अतिरिक्त हुलाक एसोसियनका अध्यक्षसमेत रहेका टंकप्रसाद परिवारका सदस्यहरू अतिरिक्त हुलाकदेखि माथिल्लो तहसम्मको कर्मचारी भएको फाइदा उठाउँदै काम नै नगरी किर्ते हस्ताक्षर गरेर तलब बुझ्दै आएका छन् ।

समाचार स्रोतका अनुसार टंकले पिआर पाएर वर्षौंदेखि विदेशमा रहेकी आफ्नी पत्नीको तलब आफैँ बुझ्दै आएका हुन् । यति मात्र होइन उनले परिवारको अन्य सदस्यको तलबसमेत आफैँ निकासा गर्दै किर्ते हस्ताक्षर गरेरै निकाल्ने गरेका छन् । आफू पदमा रहेको दम्भका साथ उनले यसो गर्ने गरेको स्रोतले बतायो ।

त्यसो त, काभ्रेका कतिपय अतिरिक्त हुलाकका कर्मचारीहरूले काम नै नगरी तलब लिने गरेको खुलेको छ । यस्ता केही कर्मचारीकै कारण काभ्रेको अतिरिक्त हुलाक ‘चोरलाई चौतारी’को रूपमा प्रयोग भइरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

यस्तै जिल्ला हुलाक कार्यालयको पूर्वनिमित्त प्रमुख रहेको बेला बालकृष्ण केसीले पनि आफ्ना परिवारका छोरा र छोरीलाई करारमा जागिर खुवाएका छन् । उनका ज्वाइँ अतिरिक्त हुलाकमै छन् तर उनी पनि काम गर्दैनन् । उनको तलब ससुरा आफैँले बुझ्छन् । उनका छोराछोरी भने नेपालमै भए पनि अरू नै व्यवसाय गरेर बसेका छन् । अन्य व्यवसाय गर्दै आएका छोराछोरीको तलब भने बालकृष्णले नै बुझ्दै आएका छन् । साँगाको अतिरिक्त हुलाक कार्यालयमार्फत केसीले उनीहरूको तलब बुझ्दै आएका छन् ।

कुशादेवीको अतिरिक्त हुलाकमा पनि यस्तै हुँदै आएको रहस्य फेला परेको छ । खरदार झलकप्रसाद सापकोटाले आफ्नी छोरीलाई बिहे गरी फर्पिङ पठाए पनि हालसम्म उनकै नामबाट किर्ते हस्ताक्षरमा तलब बुझ्दै आएको स्रोतले बतायो । यस विषयमा सापकोटाले भने छोरीको बिहे गिरिएको कुरा स्वीकार गरिसकेका छन् । जिल्लाको इलाका हुलाकदेखि जिल्ला हुलाकसम्म पनि यस्तो कार्यहरू हुने गरेको बताइन्छ ।

यसबारेमा अतिरिक्त हुलाक कर्मचारी एसोसियसन नेपालका अध्यक्ष टंकप्रसाद हुमागाईंले आफ्नी पत्नी ९ महिनादेखि बाहिर बस्दै आएको स्वीकार गरेका छन् । उनले भने, ‘२ घन्टाको काम हो जसले गरे पनि हुन्छ ।’ उनले आलोपालोमा जागिर गर्न पाइने भन्दै सो अवधिमा आलोपालोमा काम गरेर तलब बुझेको स्वीकारे । किर्ते हस्ताक्षरको सन्दर्भमा भने उनी बोल्न चाहेनन् । यस विषयमा हुलाक अधिकृत पदमबहादुर खत्रीले आफूहरूले अतिरिक्त हुलाकलाई इलाका हुलाकमार्फत निगरानी गरिएको बताए । उनले भने, ‘कहीँ किर्ते हस्ताक्षरसहित यस्तो काम भएको पाइए कार्बाही गरिनेछ ।’ उनले जिल्लामा २ सय १३ जना अतिरिक्त हुलाकका कर्मचारी रहेको र कतिपय ठाउँमा निगरानी गर्न असम्भव भएकाले मिडियाले यस्तो विषयलाई प्राथामिकताका साथ लिनुपर्ने बताए । काभ्रेको हुलाकमा भइरहेको यस्तो विसंगतिबारे प्रश्न गर्दा टंकप्रसाद र बालकृष्णले प्रतिक्रिया दिन मानेन् ।

प्रतिक्रिया