असुरक्षित गन्तव्य

नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मानिएको मुलुक मलेसिया असुरक्षित बनिरहेको छ । मलेसियामा वैधानिक तवरले मात्रै १० लाखको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको छ । अवैधानिक रूपमा रोजगारीमा रहेका नेपालीको तथ्यांक वैदेशिक रोजगार विभाग तथा मलेसियास्थित नेपाली दूतावाससँग पनि छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जाने नेपाली कामदारको ताँती जसरी बढिरहेको छ, बन्द बाकसभित्र शव आउने संख्या पनि अकल्पनीय ढंगले बढिरहेको छ । सन् २०१५ मा मलेसियामा ४ सय ६१ जना नेपालीको मृत्यु भएको थियो । यस्तै, सन् २०१६ देखि हालसम्म २ सय ६९ जना नेपालीले ज्यान गुमाएको दूतावासले जनाएको छ । नोभेम्बर महिनामा मात्रै २२ जना नेपालीले ज्यान गुमाएका थिए । मलेसिया नेपाली कामदारका लागि कतिसम्म असुरक्षित गन्तव्य रहेछ भन्ने कुरा यी तथ्यांकले प्रमाणित गरिदिएको छ । अब हामी नेपालीले चेत्नैपर्ने अवस्था आएको छ ।

अझ दुःखद् कुरा त के छ भने अवैधानिक रूपमा रोजगारीमा रहेको अवस्थामा मृत्यु भएका नेपालीको शव मलेसियाका विभिन्न अस्पतालमा अलपत्र परेका खबर सञ्चारमाध्यममा आइरहेका छन् । वैधानिक अवस्थामा मृत्यु भएका नेपालीका शव रोजगारदाता कम्पनीले नेपाल पठाए आए पनि अवैधानिक अवस्थामा मृत्यु भएकाहरूको हकमा भने मृतकका परिवारले शव पठाउन लाग्ने रकम जम्मा गर्न नसक्दा आठजना नेपालीको शव एक वर्षदेखि अलपत्र परेको बताइन्छ । मृतकको शव झिकाउन कम्तीमा एक लाख ५० हजार रूपैयाँ जम्मा गर्नुपर्ने हुन्छ, जब कि कमजोर आर्थिक अवस्था भएका गरिब परिवारले त्यति धेरै रकमको जोहो गर्न सक्दैनन् । सरकारले शव झिकाउन पहल नगर्दा मृतकका परिवारको पीडा झनै बढेर गएको छ । मलेसियाका विभिन्न अस्पतालमा शव अलपत्र परेको खबरले नेपालकै बद्नामी गराएको छ । नेपालीको मरण जे–जसरी भए पनि शव नेपाल ल्याउने प्रबन्ध गर्नु सरकारको दायित्व हो ।

सुरक्षित गन्तव्यको खोजी नगरिँदा र अवैधानिक तवरले विदेशी भूमिमा रहँदा कस्तो समस्या हुँदोरहेछ भन्ने दृष्टान्त मलेसियामा नेपाली कामदारहरूको कहालीलाग्दो मृत्युदरले देखाएको छ । असुरक्षित बसाइँ, न्यून पारिश्रमिकका कारण गत वर्ष ३ लाख नेपाली तत्काल स्वदेश फर्कन आतुर रहेबाट पनि मलेसियाको बसाइँ कति कष्टकर छ भन्ने प्रमाणित हुन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेतृत्वमा वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अधिकारी मलेसियामा कामदारको अवस्था अध्ययन गर्न जाँदा पनि अधिकांश कामदारको पारिश्रमिक बिचौलियाले उठाउने गरेको पाइएको थियो । सरकारले मलेसियासँग अझैसम्म श्रम सम्झौता गर्न सकेको छैन, जसका कारण कामदार बिचल्लीमा परिरहेका छन् । असुरक्षित गन्तव्यबाट नेपाली कामदारको तत्काल उद्धार गरिनुपर्छ । र, मलेसियामा वर्षौँदेखि अलपत्र शव झिकाउन पनि राजदूतावासमार्फत तत्काल पहल गर्नु जरूरी छ ।

प्रतिक्रिया