भैरव स्मृति पुस्तकालयद्वारा छात्रवृत्ति वितरण

bhairabकाठमाडौं, १० असोज । भैरव स्मृति पुस्तकालयले हास्यव्यंगकार भैरव अर्यालको ८१औँ जन्मजयन्तिको उपलक्ष्यमा काठमाडौंको पूर्वी भेगका करिब ३२ सामुदायिक विद्यालयका ३६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सो अवसरमा पुस्तकालयले कविता प्रतियोगितासमेत आयोजना गरेको थियो ।

गोकर्णेश्वर नपा–१४ स्थित उक्त पुस्तकालयले भैरव अर्यालको जन्मजयन्तिको अवसर पारेर ०५७ सालदेखि हरेक वर्ष काठमाडौं पूर्वी भेगका सामुदायिक माध्यमिक विद्यालयका विद्याथीहरूलाई छात्रवृत्ति वितरण र ती विद्यालयमा अध्ययनरत विद्यार्थीबीच हास्यव्यंग्य कविता प्रतियोगिता गर्दै आएको छ ।

आइतबार सम्पन्न हास्यव्यंग कविता प्रतियोगितामा अरुणोदय मावि, कक्षा १० का छात्र विवेक तामाङ प्रथम, नेपाल राष्ट्रिय निर्माण मावि कक्षा १० का छात्रा जयराम पराजुली द्वितीय तथा वालविकास मावि कक्षा १० का छात्रा अस्मिता कट्वाल र खगेन्द्र नवजीवन विशेष शिक्षा मावि कक्षा ९ की छात्रा संगीता नेपाली तृतीय भए । कविता प्रतियोगितामा प्रथम हुनेले १ हजार ५ सय, दोस्रो हुनेले १ हजार र तेस्रो हुनेले ७ सय रुपैयाँसँगै प्रमाणपत्र र विभिन्न पुस्तक पुरस्कार प्राप्त गरे । उक्त कविता प्रतियोगितको निर्णायकमा रत्नराज्य क्याम्पसका प्राध्यापक देवि घिमिरे तथा कान्तिपुर क्याम्पस थलीका प्राध्यापक रामहरि प्याकुरेल रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्यव्यंग्यकार नरेन्द्रराज पौडेल रहेका थिए भने अतिथिमा समाजसेवी तथा साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’ र नियात्राकार पोषरमण चापागाईं थिए । कार्यक्रमको अध्यक्षता भैरव स्मति पुस्तकालयका अध्यक्ष बद्रीप्रसाद अर्यालले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोडेलले भैरव अर्याल आफ्नो गुरु पनि भएको स्मरण गर्दै गोरखापत्र संस्थानमा जागिर खाँदाका केही संस्मरण सुनाए । ‘उहाँ हास्यव्यंगकार मात्र नभई कवि, समालोचक पनि हुनुहुन्थ्यो’, पौडेलले भने, ‘उहाँको जन्म जयन्तिको अवसरमा यस कार्यक्रममा उपस्थित हुन पाउँदा ज्यादै हर्षित भएको छु, अवसर जुराइ दिएकोमा पुस्तकालयलाई धन्यवाद !’

कार्यक्रमका अध्यक्ष बद्री अर्यालले पुस्तकालबारे प्रकाश पारे । उनले भने, ‘पुस्तकालय सञ्चालन गर्नका लागि एक अक्षय कोष खडा गरिएको छ, उक्त अक्षय कोषबाट आएको वार्षिक व्याजबाट पुस्तकालय सञ्चालन हुँदै आएको छ ।’ अक्षय कोषमा पुस्तकालयका आजीवन सदस्यहरूबाट उठेको रकम जम्मा गरिँदै आइएको उनले जानकारी दिए ।

पुस्तकालयको आजीवन सदस्य बन्न १ हजार रुपैयाँ तिरेर जो कोही पनि बन्न सकिने प्रावधान रहेको छ । हालसम्म आजीवन सदस्यको संख्या ७३ पुगेको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया