‘काबेली ए’ चिनियाँ कम्पनीलाई

पाँचथर, ४ असोज । ‘काबेली ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण गरिने ३७ दशमलव ६ मेगावाट क्षमताको सो आयोजना निर्माणको जिम्मा झिझ्याङ, टिडब्लु र सिडब्लू नामक चिनियाँ कम्पनीले पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम सुरु गरे पनि विवादका कारण अघि बढाउन सकेको थिएन ।

दसैँ लगत्तै चिनियाँ कम्पनीले निर्माण कार्य अघि बढाउनेछन् । आयोजना प्रमुख श्रेष्ठका अनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिंगापुरको इन्फ्रा कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ ।

कुल १० अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकलतर्फको काम सुरु हुनेछ । यसअघि कम्पनीले स्थानीयवासीसँगको सम्झौता विपरीत काम गरेको भन्दै स्थानीयवासीले आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए ।

हाल आयोजनामा पूर्वाधार विकासतर्फको काम भइरहेको र आयोजना प्रभावित क्षेत्र पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङेल्याङ गाविसमा सडक निर्माणको काम पनि अन्तिमचरणमा पुगेको बताइएको छ ।

प्रतिक्रिया