बजेटमाथिको छलफल शुक्रबार सकिने

Untitled-1 copyकाठमाडौं, १९ जेठ । सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल शुक्रबार सकिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार संसदमा प्रस्तुत गरेको आव ०७३-७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि मंगलबारदेखि सुरु भएको सामान्य छलफल प्रक्रिया शुक्रबार सकिने भएको हो ।

बजेटमाथिको छलफलका क्रममा सांसद्हरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री पौडेलले शुक्रबार नै जवाफ दिएपछि छलफल समाप्त हुने संसद् सचिवालयका अधिकारीले बताए । सदनमा बजेट पेस हुनुपूर्व सभामुख ओनसरी घर्तिमगरले सरकार र दलका प्रतिनिधिहरूसँगको परामर्शका आधारमा बजेटमाथिको छलफल बिहीबारसम्ममा सक्ने तयारी गरेकी थिइन् । तर, अर्थमन्त्री पौडेलले सदनमा बजेट प्रस्तुत गर्नु पहिले नै त्यससम्बन्धी सूचना पत्रपत्रिकामा प्रकाशित गरेर संसदीय मर्यादाको अबमूल्यन गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको बैठक अवरोध गरेपछि छलफल प्रक्रिया लम्बिएको हो ।

विगतमा आर्थिक वर्षको अन्तिम समयमा सरकारले वार्षिक बजेट सदनमा पेस गरी पारित गर्न ढिलाइ हुने गर्दथ्यो । जसका कारण संसदबाट बजेट पारित गर्ने समयसम्मका लागि सरकारले आर्थिक वर्ष सुरू हुनुपूर्व पेस्की विधेयक पारित गरी अन्तरिम समयावधिका लागि खर्च व्यवस्थापन गर्ने गर्दथ्यो । तर, यसपटक आर्थिक वर्ष सुरु हुनु ढेड महिना अगावै बजेट पेस भएको कारण यसपटक पेस्की विधेयकको आवश्यक पर्ने छैन ।

बजेटमाथिको छलफल सकिए लगत्तै सरकारले उक्त बजेटका आधारमा मन्त्रालयगत खर्चको विवरणसहितको विनियोजन विधेयक सदनमा छलफलका अर्थमन्त्री पौडेलले लागि पेस गर्नेछन् । त्यसपछि सभामुखले उक्त विनियोजन विधेयकमाथि मन्त्रालयगत खर्च विवरणमा सांसदहरूले छलफल गरी असारमसान्तभित्रै पारित गरिसक्ने तयारी सरकार र सचिवालयले गरिरहेका छन् ।

प्रतिक्रिया