‘सहमति भए मात्र माओवादी नेतृत्व’

Madhab-Kumar-Nepal copyपोखरा, १७ जेठ । एमाले नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताएका छन् । राष्ट्रिय सहमति हुने भए मात्र ओली सरकारको विकल्प खोजिने उनको कथन थियो ।

प्रेस चौतारी नेपालद्वारा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवं चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि एमाले तयार रहेको बताए । संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको उल्लेख गर्दै उनले यसले नेपाली जनतामा आशा जगाएको बताए । कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राखे ।
सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उनको तर्क छ । राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने उनको भनाइ छ । सरकारलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण तयार गरिनुपर्ने बताउँदै उनले काममा कसैले बदमासी गर्छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

राजनीतिक क्रान्तिको अगुवाइ गरेको एमालेले आर्थिक क्रान्तिको पनि अगुवाइ गर्नसक्ने बताउँदै उनले योग्यता क्षमताको मूल्यांकन गर्दै पार्टीमा अधिकतम सल्लाह गरी अघि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया