काठमाडौं, १६ जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नियमविपरित विभिन्न भारतीयसहितका नेपाली शैक्षिक परामर्श केन्द्रहरू (कन्सल्ट्यान्सी) सञ्चालनका लागि अनुमति दिएको भन्दै काठमाडौंका शोभाकान्त खनालले उनीविरुद्व अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
दर्ता नम्बर २७४६९ भएको सो उजुरीमा शिक्षामन्त्रीले आर्थिक प्रभावमा परेर एकलौटी ढंगले विभिन्न ३२ ओटा शैक्षिक परामर्श केन्द्रहरू सञ्चालनको लागि अनुमति दिएको उल्लेख गरिएको छ । उनले सहयोगी जागृत रायमाझीको सेटिङमा आर्थिक लाभ लिएर सो स्वीकृति दिएको दाबी गर्दै उजुरीमा भनिएको छ, ‘सम्बन्धन पाएकामध्ये कतिपय शैक्षिक परामर्श केन्द्रहरू गलत कार्यहरू गर्नमा संलग्न मात्रै छैनन् युरोप अमेरिका जस्ता देशहरूमा मानव तस्करीमा समेत संलग्न छन् । भविष्यमा निम्तने परिणामप्रति मन्त्री गम्भीर देखिएनन् ।’
उजुरीमा मन्त्रीको सो निर्णयको खारेजीको माग गरिएको छ । मन्त्री पोखरेलले ३२ कन्सल्ट्यान्सीलाई सम्बन्धन दिने निर्णय गत ३० चैतमा गरेका थिए ।
प्रतिक्रिया