थामिएनन् विमलका आँशु

Bimal copyकाठमाडौं, १४ जेठ । आफ्नी एक मात्र बहिनीको मृत्युको खबरले शोक विह्वल भएका नेपाली फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगर शुक्रबार बेल्जियमबाट काठमाडौं आए ।

उनकी बहिनी मनिषाको बुधबार राती आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो । मनिषाको आत्महत्या वा हत्या भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमार्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पतालमा ल्याइएको थियो । विमल एयरपोर्टबाट सिधै अस्पताल पुगे । अस्पतालमा विमलले बहिनी गुमाएको पीडा लुकाउन सकेनन् । आफूलाई सम्हाल्न खोज्दाखोज्दै क्यामेराका अगाडी विमलका आँखामा आँशु थामिएनन् । आफ्ना बाबु पनि गुमाइसकेका विमल र उनकी आमालाई मनिषा गुमाउँदाको पीडा असह्य थियो ।

अस्पतालमा उपस्थित अन्य आफन्तले विमललाई सान्त्वना दिइरहेका थिए । अस्पतालबाट बाहिरिने क्रममा बहिनीलाई टीका लगाइँदिदै विमल घोप्टिएर रोए । मनिषाको शव पोस्टमार्टम गरेर पशुपतिको आर्यघाटमा शुक्रबारै अन्त्यष्टि गरिएको छ । उनलाई विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि गर्नुअघि पशुपति आर्यघाटमा पनि विमलले आफूलाई सम्हाल्न सकेनन् । आमालाई सम्हाल्न पनि उनलाई निकै गाह्रो भएको थियो । पशुपतिमा केही फुटबलर र आफन्तहरू सान्त्वना दिन उपस्थित भएका थिए । नेपाली फुटबल टोलीका स्ट्राइकर विमल गत २९ वैशाखमा खुट्टाको उपचार गर्न बेल्जियम गएका थिए ।

प्रतिक्रिया