कुपोषण हटाउन सर्वोत्तम पिठो

जाजरकोट, १३ जेठ । बच्चालाई कुपोषण हुनबाट जोगाउन जाजरकोटका आमाहरू सर्वोत्तम पिठो बनाउने अभियानमा जुटेका छन् । भेरीमालिका–३ तल्लोथाप्लेस्थित समी चौतारा स्वास्थ्य आमा समूहले जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा सर्वोत्तम पिठो निर्माण गरेका हुन् ।

उनीहरूले तयार पारेको पौष्टिक तत्वसहितको उक्त पिठो केही समयमै बजारमा बिक्रीका लागि पठाउने तयारी गरिरहेका छन् । २५ जना आमा मिलेर गठन गरेको आमा समूहमा खपत भएर बचेको पिठो बिक्री गर्न लागेको आमा समूहकी अध्यक्ष कुशमकला शाहले बताएकी छन् । जिल्ला स्वास्थ्य कार्यालयको खाद्य सुरक्षा कार्यक्रममार्फत ३ लाख अनुदान सहयोग लिएर आमा समूहले पहिलोपटक ३ सय किलो सर्वोत्तम पिठो तयार गरिएको अध्यक्ष शाहले जानकारी दिइन् ।

स्थानीय गहुँ, मकै र भटमास मिसाएर बनाइएको पिठो बच्चाबच्चीका लागि स्वस्थ्यकर भएको स्वयंसेविका एवं आमा समूहकी सचिव पदमा शाहले बताइन् । स्वास्थ्यले दिएको रकमबाट पिस्ने मेसिन, लेभल मेसिन, भाँडाकुँडा र कच्चा पदार्थ खरिद गरिएको छ । आधा किलोग्रामका प्याक बनाएका छौँ १ प्याकको मूल्य ५० रुपैयाँ मात्र राखेका छौँ अब केही समयमै बजारमा सर्वोत्तम पिठो पठाउँछौँ सचिव शाहले भनिन् । अफ्ना नानीहरूलाई सर्वोत्तम पिठो खुवाएर कुपोषणको सिकार हुनबाट जोगाउन उनले आग्रह गरिन् ।

प्रतिक्रिया