संविधान कार्यान्वयन चुनौतीपूर्ण नेता पौडेल

ramchandraतनहुँ, १३ जेठ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले बिहीबार दमौलीमा आयोजना गरेको प्रेस युनियनको २५औँ वर्ष अर्थात् रजत वर्ष प्रवेश गरेको अवसरमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा फलफूल वितरण कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् ।

संविधान कार्यान्वयन गर्न कार्यतालिका नै बनाएर काम गर्नुपर्ने भन्दै नेता पौडेलले जगबाटै संविधान लागू गर्न सके मात्रै संविधानको औचित्य हुने प्रस्ट पारेका छन् । गाउँ विकास समितिलाई गाउँपालिकामा रूपान्तरण गर्दै नगरपालिकादेखि प्रदेशसम्मको स्थानीय चुनावपछि मात्रै राष्ट्रिय चुनाव गर्न सकिने उनको भनाइ थियो ।

संविधान नबनुन्जेल संविधानको चिन्ता थियो नेता पौडेलले भने । ‘अहिले त्यही संविधान कसरी लागू गर्ने भन्ने विषयमा समस्या खडा भएको छ ।’ व्यासनगरपालिका–८, चापाघाटमा महिलाले सञ्चालन गरेको ज्येष्ठ नागरिक आश्रममा आश्रित १० जना ज्येष्ठ नागरिकलाई नेता पौडेलले दोसल्ला र फलफूलसमेत वितरण गरे ।

प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कांग्रेसका जिल्ला अध्यक्ष वैकुण्ठ न्यौपाने, टे«ड युनियन कांग्रेसका सूर्यचन्द्र हडखले, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कार्यवाहक अध्यक्ष समुन्द्र पौडेल, प्रेस युनियन पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोरा मिया, क्रान्तिकारी पत्रकार संघ तनहुँका अध्यक्ष एसबी नेपाली, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, प्रेस सोसाइटीका केन्द्रीय सदस्य उज्ज्वल पौडेललगायतका वक्ताहरूले आआफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया