भूकम्प प्रभावित १४ जिल्लामा एक गाउँ एक चिकित्सक

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी वर्षमा थप १० जिल्लामा योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । इलाम, बाग्लुङ र कैलाली जिल्लाबाट सुरु भएको सो कार्यक्रम आगामी वर्ष झापा, रौतहट, चितवन, भक्तपुर, पाल्पा, म्याग्दी, कास्की, जाजरकोट, जुम्ला र बैतडीमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । संसद्मा बिहीबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आव ०७२÷७३ को मन्त्रालयगत प्रगति विवरणमा सो कार्यक्रम सबै नेपालीलाई स्वास्थ्यको सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरी लागू गरिने उल्लेख गरिएको छ ।

भूकम्प प्रभावित १४ जिल्लामा ‘एक गाउँ एक चिकित्सक’ कार्यक्रम लागू गरिएको र हालसम्म ४० जना चिकित्सक कार्यक्षेत्रमा गई सेवा दिन थालेका, सबै अस्पताल तथा स्वास्थ्य चौकीमा आवश्यक उपकरण तथा जनशक्ति अभाव हुन नदिन मन्त्रालयले प्राथमिकता दिएको सो प्रगति विवरणमा उल्लेख छ ।

नवगठित नगरपालिकामा कम्तीमा १५ शैय्याको अस्पताल स्थापना गर्न नगपालिकासँग सहकार्य गरी सञ्चालन मापदण्ड तयार गरिएको, सामुदायिक अस्पताललाई अनुदान दिनेसम्बन्धी मापदण्ड २०७३ स्वीकृत भएको, सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट निःशुल्क प्रदान गरिने औषधिको गुणस्तरीयता परीक्षणको लागि नमुना परीक्षण गर्ने गरिएको, औषधि व्यवस्था विभागलाई पुनर्संरचना गर्न लागिएको पनि त्यसमा उल्लेख भएको छ ।

वीर, कान्ति, टेकु, प्रसूति, मानसिक, त्रिविवि शिक्षणजस्ता केन्द्रीय तथा विशेषज्ञ अस्पतालमा स्याटेलाइट अस्पताल सञ्चालन गर्न गृहकार्य अगाडि बढाइएको छ । ती अस्पतालभन्दा बाहिर अन्यत्र क्षेत्रबाट सूचना प्रविधि प्रयोग गरी चिकित्सा क्षेत्रका तीनै सेवा (उपचार, उपकरण तथा औषधि) का बारेमा विशेषज्ञद्वारा जानकारी लिइने प्रविधिलाई स्याटेलाइट प्रविधि भन्ने गरिन्छ ।

प्रगति विवरणमा नारायणी, महाकाली, मेची, कोसी, संगरमाथा, जनकपुर, भक्तपुर, लुम्बिनी, र सेती अस्पतालमा नवशिशु स्याहार एकाई स्थापना गरिएको, खोप ऐन परिमार्जन भएको, भरतपुर अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टर स्थापना गर्न प्रक्रिया अगाडि बढाइएको उल्लेख छ । १५ वर्षमुनिका ४ सय ७२ र ७५ वर्ष माथिका ३ सय ५५ जना मुटुरोगीलाई निःशुल्क उपचार गरिएको, २ सय अति विपन्न गरिब जनताको आँखा उपचार निःशुल्क गरिएको, विपन्न नागरिक कोषबाट विभिन्न ९ प्रकारका रोगका उपचारका लागि ३ हजार ५ सयको शल्यक्रिया गरिएको, १ लाख ५१ हजार जनाको एचआइभी परीक्षण गरिएको पनि प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया