सत्यनिरूपण आयोगबारे सेनाको चासो

nepali-senaकाठमाडौं, १२ जेठ । सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाबारे मुद्दा दर्ता गरिरहेका बेला नेपाली सेनाले यसमा चासो देखाएको छ । आयोगले गरिरहेको कामबारे बुधबार सैनिक मुख्यालयले औपचारिक भेला नै आयोजना गरेर महान्ययाधिवक्तासँग छलफल गरेको छ । आर्मी अफिसर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा द्वन्द्वकालीन मुद्दाका विषयमा आउन सक्ने चुनौतिबारे सेनाले आफ्ना बहालवाला एवं पूर्वजर्नेलहरूलाई सचेत गराएको हो ।

सत्य निरूपण तथा मेलमिलाप आयोगले गरिरहेको कामबारे प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बहालवाला एवं पूर्वरथीहरूलाई जानकारी गराए । छलफलमा पूर्वसेनापतिहरू, रथीहरू, उपरथी र सहायकरथीहरू सहभागी थिए ।

भेलामा रक्षा सचिव महेशप्रसाद दाहालका साथै महान्यायाधिवक्ता हरि फुँयाललाई समेत निम्त्याइएको थियो । महान्यायाधिवक्ताको कार्यालयबाट समसामयिक विषयमा अन्तत्र्रिmया गरिएको सेनाले जनाएको छ । विषेश गरेर द्वन्द्वको समयमा विभिन्न क्षेत्रमा खटिएका तत्कालीन अधिकृतहरूलाई आयोगमा पर्न सक्ने उजुरीबारे सेनाले सचेत गराएको छलफलमा सहभागी एक पूर्वउपरथीले बताए ।

सैनिक प्रवक्ता एवं सहायक रथी ताराबहादुर कार्कीले सत्यनिरूपण तथा मेलमिलाप आयोगले गरिरहेको कामबारे बहालवाला तथा पूर्व रथीवृन्दहरूलाई जानकारी गराइएको बताए । अन्तत्र्रिmयामा सत्य निरूपणका विषयमा छलफल भएको नेपाली सेनाले जारी गरेको वक्तव्यमासमेत उल्लेख छ ।

तर, कार्यक्रममा सहभागी एक जर्नेलका अनुसार बुधबारको अन्तत्र्रिmया सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा मात्रै केन्द्रित थिएन । कार्यक्रममा प्रधानसेनापतिले समसामयिक परिस्थिति र सेनाले खेलिरहेको कामका विषयमा बहालवाला एवं पूर्वजर्नेलहरूलाई ब्रिफिङ गरेका थिए । साथै नेपाली सेनाको कल्याणकारी कोषबारे के कस्तो काम भइरहेको भन्ने विषयमा पनि जानकारी गराइएको थियो । अन्तत्र्रिmया कार्यक्रममा प्रधान सेनापतिले यसभन्दा पहिले अघि सारेको कार्ययोजनाको प्रगतिका विषयमा पनि छलफल भएको थियो ।

सेनाका जर्नेलहरूले आन्तरिक छलफल गरेर लञ्च खाइसकेपछि महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरू पुगेका थिए । उनीहरूले सत्य निरूपण तथा मेलमिलाप आयोगले कसरी काम गर्छ, त्यससम्बन्धी कानुन प्रावधान के छ र हाल हुन लागेको संशोधन कस्तो छ भन्नेबारे सेनाका अधिकारीलाई जानकारी दिएका थिए ।

कार्यक्रममा सैन्य अधिकारीले सोधेका विभिन्न प्रश्नहरूको जवाफ महान्ययाधिवक्ता हरि फुँयालले दिएका थिए । सत्य निरूपणबारे बुधबार भएको छलफलमा महान्यायाधिवक्ता फुँयालले द्वन्द्वकालीन घटनाबारे छानविन हुँदा व्यक्तिगतरूपमा भएका घटनामा संस्था नभएर व्यक्ति मात्रै दोषी हुने बताएको एक पूर्वजर्नेलले जानकारी दिए ।

संस्थागत एवं नीतिगत निर्णय भएकोमा संस्था दोषी हुने भए पनि बलात्कारलगायत कतिपय फौजदारी अपराधका घटनाहरूमा संस्था नभएर व्यक्ति मात्रै जवाफदेही हुने फुँयालको भनाइ उधृत गर्दै सैनिक स्रोतले बतायो ।

कार्यक्रममा सहभागी एक पूर्वजर्नेलले भने ‘सेना आपैmँ ब्यारेकबाट निस्केको होइन, दाङ ब्यारेकमा आक्रमण भएपछि सरकारले गरेको निर्णयअनुरूप हामी ब्यारेक बाहिर आएका थियौँ । अहिले भटाभट उजुरी गरेर सेनालाई अपमानित गर्नु राम्रो होइन ।’ तर, आयोगले गर्ने छानबिनका क्रममा नेपाली सेनाले असहयोग नगर्ने उनले बताए । आयोगमा व्यक्तिगतरूपमा लुरुलुरु वयान दिन जाने कि संस्थागतरूपमा प्रस्तुत हुने भन्ने टुंगो लागिनसकेको उनले बताए । उनले भने, ‘वयान दिन जाँदा मैले त्यस्तो गरेकै होइन भन्ने त भइहाल्छ, तर व्यक्तिगतरूपमा लुरुलुरु वयान दिन जाने कि, सेनाको संस्थाले नै डिल गर्ने ? यो प्रश्न छ ।’

यसैबीच नेपाली सेनाको कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र छत्रमानसिंह गुरुङद्वारा लिखित आत्मवृतान्तका बारेमा पनि चर्चा भयो । त्यस्ता आत्मवृतान्तहरूले सेनाको गोपनियता खोलेको भन्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले असन्तुष्टि जनाएको स्रोतले बतायो । कार्यक्रममा प्रधानसेनापति क्षत्रीले आत्मवृतान्त तथा सेनासम्बन्धी अन्य पुस्तक एवं लेख रचनाहरू लेख्दा सेनाको संरचनात्मक एवं गोपनियतालाई ख्याल गर्न सबैमा आग्रह गरेका थिए ।

प्रतिक्रिया