समृद्धी राईलाई शुष्मा रूपाबुङको खुलापत्र

ismridi rai

प्रिय समृद्धी !

राईको नाताले हामी दिदी–बहिनी पर्छौँ तर तिमीलाई राई मन नपर्ने यो साइनो पनि मन्जुर नहुन सक्छ । म चाहिँ आफ्नै ठान्छु । हामीमध्ये को दिदी र को बहिनी ? जन्ममिति हेर्नुपर्ला । सायद हामी समकालीन हुन सक्छौँ त्यसैले पनि मैले तिमी भनेर सम्बोधन गर्दैछु ।

आज विभिन्न सामाजिक सञ्जाल र फेसबुकका भित्ताहरूमा तिम्रै मात्र चर्चा परिचर्चा चलिरहेको छ । थाहा छैन तिमी यतिबेला के महसुस गरिरहेकी छौ, म भने एकदमै नराम्रो महसुस गरिरहेकी छु । तिम्रा लागि म दुखेको छु । किनकि, तिमीलाई गाली गर्नु एउटा किरातिम्मा (किराती छोरी)लाई गाली गर्नु हो र त्यो म पनि हुँ त्येसैले दुई शब्द तिम्रो नाममा खर्चिदैछु ।

म हरेक हिसाबले तिमीभन्दा पछि छु, तिम्रो जतिको सुन्दर अनुहार छैन, तिम्रोजस्तो मिलेको शरीर छैन, तिमी जतिको अंग्रेजीमा पोख्त छैन । सामन्य गाउँको परिवेशमा जन्मेर हुर्केको सामान्य स्कुल र विश्वविध्यालयबाट डिग्री लिएको छु तर पनि सदियौँदेखि थिचिएर, पिल्सिएर मासिनै लागेको आफ्नो मौलिकता र पहिचानलाई चिनेको छु, माया गर्न जानेको छु र यसलाई फेरि पनि स्थापित गराउन कम्मर कसेकी छु । फेरि पनि जबर्जस्ती जिउँदै पैताला मुनि भसाइएको आफ्नो पुर्खालाई स–सम्मान आफ्नो स्थानमा स्थापित गर्नु अस्तित्वको लडाइँमा भाग लिरहेकी छु । यसो गर्न मैले कुनै स्कुल र विश्वविध्यालयमा पढेर जानेको होइन । म आफूलाई जीवन दिने आमालाई माया गर्छु, बाबालाई माया गर्छु र आफ्नो माइतिलाई सम्मान गर्छु । यसो भनौँ, म आफ्नो शरीरभित्र बगिरहेको तातो रगतलाई माया गर्छु । यति नै काफी भयो मलाई आफ्नो पुर्खा, मौलिकता र पहिचानप्रति नतमस्तक हुन ।

म एउटा राई समुदयमा हुर्के बढे नेपाली शुद्ध बोल्न आउदैन थियो तर पनि स्कुल जान थालेपछि नेपाली (खस भाषा) मा प्रथम नै हुन्थे । तर, कसरी तिमी भन्छौ नेपाली राम्रो बोल्न आउदैन भनेर । मानौला तिमी बिकसित मुलुकमा जन्मियौ, हुर्कियौ, पढ्यौ । तर, तिम्रा घरका सबै परिवार आफन्त त अंग्रेजीमा पोख्त हुनुहुन्न होला नि ? के तिमी चौबिसै घन्टा अंग्रेजीमा कुरा गर्छौ र ? छातिमा हात राखेर भन, तिमी सपना नेपालिमै देख्छौ. । र, अर्को कुरा म अंग्रेजीमा पोख्त छैन तर कम्तिमा पनि म I don’t want see boys from my communities. भन्न सक्तिनँ र । भाषाशैली नमिल्दा पनि यसो हुन जादैन ।

मलाई थाहा छ, तिमी सक्षम छौ, तिमीलाई अगाडि बढ्न, कुनै प्रतिस्पर्धामा पहिलो हुन समाबेशी कोटा चाहिँदैन, तिमी राज्यको सबै मान्छेसँग खुल्ला प्रतियोगितामा अगाडि आउन सक्छौ । तर, सोच त तिमीजस्तो सम्पन्न परिवारमा जन्मेर आधुनिक शिक्षा लिन पाउने हाम्रो समुदायको केटीहरू कति होलान् ? यदि सबैजना तिमीजस्तै भए तिमीले यो स्थान पक्कै पाउने थिएनौ । उनीहरू अर्थात हामीहरू तिमीभन्दा पछि छौँ त्येसैले त तिमी पहिलो भयौ माथि भयौ । के अब तिमीले तिमीभन्दा पछि भएका जो तिम्रो हात समाएर तिमीसँगै माथि उक्लन खोज्ने आफ्नै दिदीबहिनीको लागि सोच्नु पर्दैन ? तर तिमीले त आफ्नो घरलाई झुप्रो ठानेर सानदार बंगलामा भाडामा बस्न गयौ । तिमीले सोचेनौ कि त्यो झुपडीमा तिम्रो परिवारको अरू सदस्यहरू पनि थियो र अब तिनीहरू बेघर खुल्ला आकशमा आफ्नो शिर ओताइरहेछन् । जुन दिन भाडामा बसेको सानदार घरबाट निकालिन्छौ त्यो दिन बल्ल महसुस हुन्छ त्यो एउटा झुप्रो घर होइन स्वर्गको सानो टुक्रा रहेछ भन्ने ।

मैले पनि नेपाल सरकारले लिएको लोक सेवा प्रतियोगितामा आफ्नो समावेशी कोटाबाट नभई राज्यका सबै जाति, वर्ण र समुदायको मान्छेहरूसँग खुल्ला प्रतियोगिताबाटै नाम निकालेकी हुँ । तर, पनि मैले कहिल्यै भनिनँ अब हामीलाई हाम्रो समावेशी कोटा पुग्यो भनेर । बरु मभन्दा कम अवसर पाएका राज्यको मुलधारबाट बन्चित मेरा भाइ–बहिनीहरूका लागि सोचिरहेँ ।

भर्खरै हाम्रो उभौली साकेला सकियो । राम्ररी सेलाउन अझै बाँकी छ । साकेला हाम्रो पहिचान हो, जीवन हो । हामी किराती हौँ भन्ने चिनाउने मुख्यसूचक पनि । योबेला धेरैअघि छुटेका ब्यस्त जिवनशैलीलाई छुट्याएर आफन्तजन साथीभाइ अनि अग्राजहरूसँग भेटेर ढोल झ्याम्टासँगै साकेलाशिलीहरूमा सुखदुख बाड्ने गर्छौँ । भन्ने हो भने हाम्रो राई लिम्बु समुदायमा जस्तो चेलीलाई सम्मान गर्ने माइतीहरू कमै समुदायमा भेटिन्छ । बिहे गरेर गएकी चेलीले पनि माइती आउँदा उत्तिकै हक जगाउन दिन्छन्, पहिला जत्तिकै । नढाटी भन्ने हो भने त अरू समुदायमा जुवाइँलाई फकाइ–फुल्याइ भगवान मानेर आफ्नो छोरीलाई राम्रो गरोस् भनेर चाकरी गरिरहँदा हाम्रो समुदायका माइतिहरू चेलीलाई होचो–हेला ग¥यो भने जुवाइँलाई पिट्नसम्म तयार हुन्छन् । यो कुरा सकारात्मक भन्न खोजेकी होइन, तर हाम्रा माइतिहरू चेलीलाई यतिसम्म माया गर्छन्, महत्व दिन्छन भन्न खोजेकी हुँ । तर, आज एकअर्कालाई यति माया, सद्भाव राख्ने चेली माइतीहरूबाट सार्वजानिक रूपमा गालीका वर्षाहरू हुँदै गर्दा तिमीलाई कस्तो लाग्छ ? कसम म चाहिँ साच्चै ऐठन परिरहेकी छु ।

सायद तिमीले यति धेरै प्रेम अनि महत्व दिने माइतिहरूलाई चिन्न सकेनौ, जुन रगतले तिमी जीवित छौ त्यही रगतलाई आफूबाट टाडा पार्न खोज्यो । तिमी आफैँ भन, तिम्रो शरीरभित्र बगेको रगतलाई सबै निकाल्यौ भने तिमी जिवित हुन सक्छौ ?

भन्ने कुरा धेरै छन् मनभित्र तर कति कुराहरू मनभित्रै रहे शब्दमा लेखिनँ नामन्जुर गरेँ अनि महसुस बनेरै बसिरहे ।

हामी किरातिहरूको अर्को पहिचान आफ्नो पुर्खाहरूलाई अर्थात आफूभन्दा ठूलालाई सम्मान गर्नु हो । तर, तिमीले त सिधै अपमान मात्र होइन, बेइजत नै ग¥यौ । थाहा छैन फुफुहरूले के महसुस गरिरहनु भएको छ यतिबेला । मोडेल भनेको टिमिक्क शरीर बनाएर पार्दर्शी कपडा लाएर स्टेजमा क्याटवाक गर्नु, नकि सुन्दरी प्रतियोगिताहरूमा ताज पहिरिनु अनि पर्दामा छम्छमी नाच्नु मात्र होइन । मोडेल अंग्रेजी शब्द नेपाली मा यस्को अर्थ ‘नमुना’ हो जुन अरूको लागि नमुना बन्ने अरूले आफूलाइ देखेर आफूजस्तै बन्न खोज्ने एउटा आदर्श व्यक्ति तिमी पनि हाम्रो अरू किरातिम्मा बहिनीहरूका लागि एउटा नमुना थियौ । मैले मेरो प्रत्येक बहिनीहरूलाई समृद्धी राई बन्न प्रेरित गरिरहन्थेँ तर आज त उनीहरूले मलाई भन्छन्, ‘हामी पनि समृद्दी राईजस्तो भयौँ भने त सबैले गाली गर्दो रहेछन्, अब त त्यस्तो नबन्ने ।’ यहाँ तिम्रो मात्र होइन हाम्रो पनि अभिमान स्वाभिमान तल खसेको छ ।

तिमीलाई लाग्छ होला, तिमीलाई गालि गर्नेहरू नपढेको गाउँले–गोवार जसले जे भने पनि केही फरक पर्दैन । तर, याद गर तिनीहरू छन् र नै तिमी सेलिब्रेटी भयौ तिमीजस्तै पढेलेखेको शिक्षित राम्रो प्रतिभावान मान्छेहरू त तिम्रो खुट्टा तानेर तिम्रै स्थान लिनमा ब्यास्त छन् ।

आफ्नो जात समुदायको पहिचान खोज्दैमा जातिबादी हुँदैन जातिवादी त ति हुन्, जसले धेरैलाई राज्यको मूलधारबाट बन्चित गराएर नामेट पार्न खोज्छ, जसले जात वर्ण छुट्याए । म आफू भएर बाच्न पाउनु भन्नुको अर्थ अरूलाई मार्नु होइन ।

माया गर्ने मान्छेले मात्र आफूले गरेको कुरामा चित्त दुखाउँछन् त्यसैले सोच, तिमीलाई तिम्रो आफ्नो मान्छेले आफ्नो मौलिकताले आफ्नो समुदायले धेरै माया गर्नुहुन्छ र नै चित्त दुखाउनु भयो । हुन त आज चाहेको भन्दा धेरै अश्लिल शब्दहरू तिम्रो नाममा प्रयोग गरिएका छन् यसमा म दुःखी छु र यही मार्फत सबैलाई अनुरोध गर्न चाहन्छु– अरूलाई तल पार्ने नाममा आफू पनि तल नझर्नुस् ।

अन्त्यमा, तिमी शिरको फूल थियौँ हावाले उडाको भए सबै मिलेर फेरि उठाउने थिए जसरी धरहरा दैवी विपत्तिले ढलाए पनि आज फेरि त्यसलाई उठाउन सबै जना एक भएर जुर्मराई रहेका छन् । त्यो धरहरा बनाउनेले आफैँ डोजर लाएर भत्काएको भए पक्कै कसैले फेरि उठाउने कोसिस गर्ने थिएनन् । त्यस्तै शिरमाथिको फूल आफैँ भुइँमा झ¥यो अब कसैले उठाउन हतपत कोसिस गर्ने छैनन् । तिमी आफैँ उठेर फेरि साबित गर्नुपर्नेछ– तिमी पक्का शिरकै फुल हौ भनेर ।

त्यतिबेलासम्मको लागि फेरि मेरो किरातिम्मा बहिनिहरूका लागि एउटा अर्को मोडेल (आदर्श व्यक्ति) खोज्ने छु । आशा छ, यसपल्ट पक्कै मैले खोजेको मोडेलले मलाई गलत साबित गर्ने छैन ।

–  तिम्रो रूपाबुङ शुष्मा

(अनलाइनवेभटिभीबाट)

प्रतिक्रिया