सेन्दाई । विश्वका औद्योगिक राष्ट्रहरूको समूह जि७ मा आवद्ध देशहरू आतंकवादका विरुद्धमा लड्न सहमत भएका छन् । जापानको सेन्दाई नगरमा आयोजित उक्त समूहको बैठकको दोस्रो दिन शनिबार उनीहरूले विश्वमा बढ्दो आतंकवादका विरुद्धमा लड्ने सहमति जनाएका हुन् ।
उनीहरूले विश्वमा पछिल्लो समयमा बढ्दो आतंकवाद विरुद्धको लडाइँका क्रममा आवश्यक सबैखाले सहयोग उपलब्ध गराउने विषयमा पनि सहमति जनाएका हुन् । त्यस प्रयोजनका लागि उनीहरूले आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि ती राष्ट्रले व्यक्त गरेका छन् ।
उक्त २ दिने बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ– हिंसात्मक अतिवादका विरुद्धमा आर्थिक लगानीका साथै अन्य आवश्यक सहयोग उपलब्ध गराउनु सबै अन्तर्राष्ट्रिय समूहको कर्तव्य हो ।
विश्वमा बढ्दो आतंकवादी क्रियाकलापका विरुद्धमा हालैका दिनमा जारी रहेको लडाइँमा आगामी दिनमा यस संगठनले थप सहयोग उपलब्ध गराउने जानकारी पनि सो विज्ञप्तिमा दिइएको छ । जापानको सेन्दाई नगरमा आयोजित २ दिने बैठक शनिबार सम्पन्न भएको हो । (एजेन्सी)
प्रतिक्रिया