काभ्रे, ८ जेठ । जिल्ला खानेपानी डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेको खानेपानीको समस्या र जिल्लामा शौचालय प्रयोगबारे रणनीतिक कार्ययोजना तयार गरेको छ । डिभिजन कार्यालय काभ्रेले बनेपामा गरेको पत्रकार सम्मेलनमा खुला दिशामुक्त जिल्ला घोषणादेखि चरम खानेपानीको समस्यालाई निराकरण र नियन्त्रण गर्न रणनीतिक योजना निर्माण गरेको हो ।
विषयगत कार्यालयहरू सँगै राखेर पत्रकारहरूसँगको साझा छलफलमा डिभिजनले सरसफाई तथा स्वस्छता समन्वय समिति, क्षेत्रीय र जिल्ला तवरका संस्थाहरूसँग छलफल गरी रणनीति बनाएको हो । लक्ष्यसहितको कार्ययोजना तयार गरेर अगाडि बढ्न सजिलो हुने भएकाले रणनीति निर्माण गर्न लागिएको कार्यक्रम संयोजक रामकाजी काफ्लेले जानकारी दिए । उनले विषयगत कार्यलयहरूले यस बारे खासै चासो दिन नसक्दा पुरानो कार्ययोजनाले लक्ष्य अनुरूप सफलता हासिल गर्न नसकिएको र प्राविधिकहरूको पनि संख्या कम भएको उनको भनाइ छ ।
जिल्लामा भूकम्पपछि पानीको स्रोतहरू धमाधम सुक्दै गएको प्रति रणनीतिक कार्ययोजना विशेष लक्षित रहने पनि बताइएको छ । कार्यक्रममा शान्ता अधिकारीले यस्तो योजनाहरू सबै पक्षको सल्लाह र साथमा मात्रै सम्भव हुने बताएकी छन । कार्यक्रमको योजना अनुसार सन् २०१७ सम्ममा काभ्रे जिल्लालाई खुला दिशामुक्त गराई सक्ने योजना तयार गरिएको छ । यता भूकम्पपछि डिभिजन कार्यालयले निकालिएको तथ्यांक अनुसार बाढीको जोखिममा रहेको मुहानको संख्या ५६, पहिरोको १ सय ६४, पानी बढेको ५३, पानी सुकेको मुहानको संख्या १ सय ९७ रहेको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार पानी सुकेको क्षेत्रहरूमा वैकल्पिक स्रोत भएको १ सय ८१ र हुँदै नभएको १ सय ७४ रहेको उल्लेख गरिएको छ ।
यता तथ्यांकमा भूकम्पअघि पक्की शौचालयको प्रयोग गर्ने घरधुरी ६६ हजार ४ सय ६ र भूकम्पपछि पूर्णक्षति भई प्रयोगमा नै नआएको १५ हजार ७ सय ६७ घरधुरी रहेको तथ्यांकमा उल्लेख छ । काभ्रेमा जम्मा घरधुरी ८० हजार ३ सय ३७ रहेको सो तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया