काठमाडौं, ८ जेठ । किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान् चाडका रूपमा शनिबार उभौली र उधौली पर्व मनाएका छन् । किराती रीति र परम्पराअनुसार शनिबार भूमिको पूजा गरी यो पर्व मनाइयो । प्रकृति पूजक किरातले मनाउँदै आएको यो पर्व कहिलेबाट मनाउन सुरु गरियो भन्ने सम्बन्धमा कुनै तथ्य प्रमाण छैन ।
यस पर्वका विषयमा स्थान र परम्पराअनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ । उभौलीलाई समुदाय, ठाउँ र भाषागत भिन्नताअनुसार विभिन्न नामले पुकारिन्छ । चाम्लिङले साकेला, वान्तावाले साकेवा तथा साकेन्वा, सुनुवारले फोलष्याँदर, लिम्बूले चासोक, दुमीले तोसी वा तोसुजस्ता नामले सम्बोधन गर्ने गरेको यसको अनुसन्धानमा लागेका कीर्तिकुमार दुमी राई बताउँछन् ।
यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक मनाइन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मंसिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौली पर्वको रूपमा मनाइन्छ । ‘दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरियाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र पाक्ने बेलामा खुसियाली मनाउँदै उधौली पर्व मनाइन्छ’ उनले भने ।
लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्याँङ्ग्रा तथा जंगली जनावरले दुःख नदिउन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुंगी, किराफट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो ।
किरातहरू उधौली पर्वमा अन्नबाली पाक्ने, खेतबारीमा लहलह देखिने, भकारी भरिएर सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुसी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन् ।
लेक तथा पहाडतिरको वातावरण चिसो हुने हुँदा गर्मीको समयमा तराईतिरबाट उभो चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपंक्षी, चराचुरुंगी र किराफट्याङ्ग्रासमेत उधो गर्मी भएको ठाउँ मधेस, तराईतिर बसाइँ झर्छन् भन्ने विश्वासले पनि मंसिर पूर्णिमामा मनाइने पर्वलाई उधौली भनिएको भूपेन्द्र पुमा राई बताउछन् ।
राई, लिम्बू, याक्खा र सुनुवारलगायतका किरात जातिको यो पर्वकोे अवसरमा पहिलो दिनमा घर घरमा लिपपोत गरिन्छ । आफ्ना पिता पुर्खाले मानेको तीन चुलो ढंगाको विधिपूर्वक पूजा गरिन्छ ।
गाउँ, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भुमेथान र त्यो नभएको ठाउँमा कटुसको हाँगा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजा गरिने गरेको ऋषिश्वर दुमी राई बताउछन् । ‘पूजा सम्पन्न गर्नका लागि कुखुरा, सुँगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाडलगायत सामग्री आवश्यक पर्छ’ उनले भने ।
पूजापछि थानकै वरिपरि सामूहिक रूपमा विभिन्न परम्परागत बाजा बजाएर नाच्ने गरिन्छ । पहिलो दिन पूजा स्थलमा नाची पछिका दिनमा फरक स्थानमा जम्मा भई नाचेर १५ दिनसम्म यो चाड मनाइन्छ । नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।
साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिंगारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयको माध्यमबाट नाचमा उतारिन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ । सिली टिप्ने वा नाच्ने तरिका ठाउँअनुसार फरक हुन्छ । यसरी नाच्दा वा सिली टिप्दा अभिनय वा हाउभाउसँग मिल्ने, पितृ र प्रकृतिसँग मेल खाने गीत गाइन्छ ।
उभौली र उधौली पर्वमा नाच्दा जातीय पहिचान भल्काउने पहिरन लगाइन्छ । पुरुषहरू कालो कोट, खाँडीको कपडा, अल्लोको धागोबाट बुनिएको कपडाबाट निर्मित दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चु्ंगा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौँरीको पुच्छर, सिन्कौली सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाउँदै नाच्ने गर्छन् ।
महिला पनि चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा हँसिया, परम्परागत गरगहनाले सजिएर सिन्कौली सेउली हल्लाउँदै ढोल, झ्याम्टा बजाउँदै नाच्छन् । महिला, पुरुष, बालक, वृद्धवृद्धा सबै जम्मा भएर गोलाकार रूपमा नाचिन्छ ।
किरात जातिको बसोबास रहेका पूर्वी भागका खोटाङ, भोजपुर, उदयपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा हर्ष उल्लासका साथ यो पर्व मनाइन्छ । यस अवसरमा यी जिल्लाका गाउँ गाउँमा ढोल, झ्याम्टा बजाएको आवाज सुन्न र नाच देख्न सकिन्छ ।
हाल राजधानी काठमाडौँमा समेत यो पर्व मनाउने गरिएको छ । काठमाडौँमा बसोबास गर्ने किरात, राई, लिम्बू, याक्खा, सुनुवारलगायतको सामूहिक आयोजनामा ललितपुरको हात्तीवनस्थित साकेला थानमा जम्मा भई पूजाआजा गरिने गरेको किरात राई यायोक्खा केन्द्रीय सदस्य सुमन राई बताउछन् ।
‘नखिपोट, टुँडिखेल, जावलाखेल, बानेश्वरलगायत ठाउँमा परम्पराअनुसार पूजा गरी मनाइन्छ, किरातको बसोबास रहेको बेलायत, हङकङ, सिंगापुर, अमेरिका, भारतलगायतका देशमा समेत यो चाडलाई मनाउन थालिएको छ’ उनले भने ।
२०६३ सालपछि यस चाडको अवसरमा नेपाल सरकारले राष्ट्रिय रूपमै सार्वजनिक बिदा दिन थालेको छ । अन्य संस्कृतिको प्रभावमा हराउँदै गएको रीतिरिवाजलाई जगेर्ना गर्न सबै किरातहरू लागिपरेका छन् । यस पर्वले समाजमा सामाजिक, सांस्कृतिक सद्भाव, आपसी सम्बन्ध र मेलमिलाप कायम गर्न टेवा पु¥याएको किरात जातिको विश्वास छ ।
प्रतिक्रिया