काठमाडौं, ७ जेठ । बन्दी सहायता गृह (पाम) ले चौथो सिडब्लुसिएन जुडो कप तथा दोस्रो सिडब्लुसिएन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपको उपाधि शुक्रबार जितेको छ । बाल वातावरण केन्द्र, नेपाल (सिडब्लुसिएन) द्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ पाम समग्रमा टिम च्याम्पियन बन्यो । समान २–२ स्वर्ण, रजत र कांस्यसहित होप्याड दोस्रो भयो । तेस्रो भएको आयोजक ‘ए’ ले १ स्वर्ण, २ रजत र ३ कांस्य जित्यो ।
पुरुषमा भुटानका किन्ले छिरिङ तथा महिलामा नेपालकी पुष्पा भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । किन्लेले ६० केजीमाथि रजत तथा पुष्पाले ४४ केजीमुनि स्वर्ण हात पारे । प्रतियोगिताको पुरुषतर्फ ४५ केजीमुनि पामका सुबोध मण्डल, ५० केजीमुनि पामकै उत्तम प्रधान श्रेष्ठ, ५५ केजीमुनि एमएमएसीका किरण गडेल, ६० केजीमुनि पामका सुदेश दोङ तथा ६० केजीमाथि नुवाकोटीका रामभक्त तामाङले पहिलो स्थान हात पारे ।
महिलाको ४८ केजीमुनि आयोजक ‘ए’ की मनिषा महर्जन, ५२ केजीमुनि होप्याडकी शारदाकुमारी खत्री, ५७ केजीमुनि १२औँ सागकी रजतधारी मनिता श्रेष्ठ प्रधान तथा ५७ केजीमाथि केन्द्रिय जुडो डोजोकी पुनम श्रेष्ठले स्वर्ण जिते । विजेतालाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, आयोजकका अध्यक्षसमेत रहेका जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ, आयोजकका महासचिव अशोक सिवाकोटीलगायतले पुरस्कृत गरे ।
सोही अवसरमा १२औँ सागमा १ स्वर्ण, २ रजत र ६ कांस्य जित्न सफल जुडो खेलाडीलाई सिडब्लुसिएनको लोगो अंकित ट्रयाकसुटसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । प्रशिक्षक र व्यवस्थापक पनि प्रशंसा पत्रबाट सम्मानित भए ।
नयाँपाटीमा भएको एकदिने प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा नेपाल र भुटानका गरी जम्मा १ सय १५ खेलाडीले १० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया