बनेपा, ७ जेठ । बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्राको तयारी सुरु भएको छ । जात्राका लागि बनेपा नगरपालिकाले कुल ८ लाख ८५ हजार रूपैयाँ खर्च हुने अनुमान गरेको छ । १२ लाख रूपैयाँ यस जात्रालगायत अन्य विभिन्न चाडपर्वमा खर्च हुने बनेपा नगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर वैद्यले जानकारी दिए ।
बनेपा नगरपालिकाले छुट्याएको सो बजेट भीमसेनजात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्य पूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजालगायत संस्कृति संरक्षणमा खर्च हुने उनले बताए ।
सूचना अधिकारी वैद्यले जात्रालाई व्यवस्थित गर्न बनेपा नपा–१० निवासी देवराज चौप्रधानलाई द्वारे नियुक्तसमेत गरिएको उल्लेख गर्दै जात्राका लागि द्वारेलाई सहयोग गर्ने सहद्वारे र महाहरूसमेत हुने जानकारी दिए । उनका अनुसार जात्रामा कंपुग बाजा, शाही बाजा विधि बाजाका रूपमा बजाइन्छ । यस अतिरिक्त सनही बाजा र धिमे बाजासमेत बजाइन्छ । जात्रामा कम्तीमा १४ वटा बलि पूजासमेत गरिन्छ ।
बनेपा नगरपालिकाले सो जात्राका लागि सरसफाइदेखि सरकारी निकायसँगको समन्वयसम्म सहयोगीको भूमिका निर्वाह गर्ने गरेको छ । ८ र ९ जेठ गरी २ दिनसम्म मनाइने सो जात्राको अघिल्लो दिन उहिलेका राजामहाराजहरूले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजासमेत गरिने प्रचलन छ ।
संस्कृतविद् ज्ञानकाजी मानन्धरले दिएको जानकारीअनुसार चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी हुन् । चण्डेश्वरीदेवीले दैत्यराज चण्डासुरको वध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको हो । पूर्णिमा र त्यसको भोलिपल्ट यो जात्रा लाग्छ । वंशावलीअनुसार सत्ययुगदेखि यो जात्रा हुने गरेको उनको भनाइ छ । चण्डासुर दैत्यको वध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजागाजासहित जात्रा गरिएकाले यो जात्राको परम्परा सुरु भएको उनी बताउँछन् ।
संस्कृतविद् मानन्धरले नेपाल संवत्को सुरुआतदेखि नै नेपालमा जात्राको सुरुआत् भएको जानकारी दिँदै स्थानअनुसार फरकफरक रूपमा काभ्रेपलाञ्चोकमा जात्रा गर्ने प्रचलन रहेको बताए । उनका अनुसार उग्रचण्डीनालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेत गणेशको, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।
साहित्यकार तथा काभ्रेपलाञ्चोकका अग्रज पत्रकार मोहन दुवालले चण्डेश्वरी मन्दिर लिच्छविकालीन मन्दिर भएको उल्लेख गर्दै काठमाडौंको नरदेवी र बूढानीलकण्ठमा समेत चण्डेश्वरीको जात्रा हुने जानकारी दिए । नेवारी समुदायले यो जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।
प्रतिक्रिया