किर्ते मुद्दाका डाक्टर धरौटीमा रिहा

पाँचथर । सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ परेका डाक्टर तारा पोख्रेल धरौटीमा रिहा भएका छन् । ०५२ देखि ०५६ सालसम्म पाँचथर अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेका डा. पोख्रेललाई जिल्ला अदालत पाँचथरले २७ हजार धरौटी मागेर तारेखमा रिहा गरेको हो ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनलाई २७ हजार रूपैयाँ धरौटी माग गरेको थियो । मागअनुसारको धरौटी दाखिला गरेर पोख्रेल तारेखमा रिहा भएका हुन् । २० वर्ष पहिले दर्ता भई मुल्तबीमा रहेको मुद्दालाई अनुसन्धान गर्न भन्दै पाँचथर प्रहरीले जिल्ला अस्पतालका तत्कालीन डाक्टर पोख्रेललाई गत शुक्रबार पक्राउ गरेको थियो । डाक्टर पोखरेलले यसअघि नेपाल सरकारको स्वास्थ मन्त्रालयअन्तर्गत स्वास्थ सेवा विभागको बालरोग महाशाखा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुखसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

पाँचथर अस्पताल प्रमुखको जिम्मेवारीमा रहँदा सरकारी छाप दस्तखत किर्ते गरेको भन्दै औषधि व्यवसायी वसन्त पाण्डेले पोख्रेलविरुद्ध मुद्दा दर्ता गराएका थिए । डाक्टर पोख्रेल पाँचथर अस्पतालको प्रमुख हुनुपूर्व पाण्डेले अनिरुद्र सहकारीमार्फत अस्पताल परिसरभित्रै औषधि पसल सञ्चालन गर्दै आएका थिए । अस्पताल परिसरमा निजी पसल राख्न नपाइने आवाज उठेपछि पोखरेलले पाण्डेलाई पसल हटाउन भने पनि उनले अटेर गरेपछि अस्पताल विकास समितिको निर्णयबाट सो पसल बन्द गराइएको थियो ।

औषधि पसल बन्द गराइएपछि पाण्डेले पुनः मन्त्रालयबाट अस्पताल परिसरमा पसल सञ्चालन गर्न दिनु भन्ने आशयको पत्र लेखाएर पुनः पसल सञ्चालन गर्न पहल गरेका थिए । अस्पताल विकास समितिले आफ्नो निर्णय सच्याउन नचाहेपछि पाण्डेले पाँचथर जिल्ला अस्पतालका तत्कालीन डाक्टर पोख्रेललाई विपक्षी बनाएर अदालतमा मुद्दा दर्ता गराए ।

अदालतले मुद्दाको सुनुवाइका क्रममा अस्पतालसँग प्रमाण मागेपछि डाक्टर पोख्रेलले अस्पताल विकास समितिको निर्णय र विभागबाट प्राप्त पत्र अदालतमा पेस गरेका थिए । सोही कागजातमा सरकारी छाप र दस्तखत किर्ते गरेको भन्दै पाण्डेले पुनः अर्को मुद्दा दर्ता गरेका थिए । (सौस)

प्रतिक्रिया