सरकारद्वारा पुनः वार्ता आह्वान

काठमाडौं, ७ जेठ । सरकारले आन्दोलनरत मधेसी मोर्चासहितका दलहरूलाई वार्ता र संवादमा आउन पुनः आव्हान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ आन्दोलनरत मोर्चा आबद्ध दलहरूलाई वार्ता र संवादका लागि पुनः आव्हान गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारकर्मीलाई जानकारी दिए ।

आन्दोलनरत पक्षका मागलाई वार्ता, संवाद र सहमतिबाटै निकासमा पुगेर समाधान खोजी राष्ट्रिय पुनर्निर्माण र संविधानको कार्यान्वयनलगायत महत्वपूर्ण कामहरूमा केन्द्रित हुन पनि बैठकले सबैलाई आग्रह गरेको उनले बताए ।

‘सरकारले मधेसी मोर्चासहितका दललाई विगतमा पनि पटकपटक लिखितरूपमा वार्ता र संवादमा बसी उपयुक्त निकासका लागि आग्रह गरिसकेको सन्दर्भमा फेरि एकपटक अधिकतम लचकताका साथ सरकार सबै कुरा सुन्न तयार छ र तत्कालै निकासमा पुगेर राष्ट्रिय पुनर्निर्माण र संविधानको कार्यान्वयनलगायत विषयमा केन्द्रित हुन सरकारले सबैलाई आग्रह गरेको छ’, सञ्चारमन्त्री राईले भने ।

सरकारले भर्खरै श्रीलंकामा गएको बाढी, पहिरोबाट भएको क्षतिको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको तर्फबाट १ लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी लुम्बिनी अञ्चल अस्पताललाई १ सय शैयाबाट ३ सय शैयाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चारमन्त्री राईले बताए ।

प्रतिक्रिया