पाँचथर, ६ जेठ । सञ्चारिका समूह नेपाल पाँचथरको प्रथम अधिवेशनबाट अध्यक्षमा शान्ति राई चयन भएकी छन् । तदर्थ समितिमा संयोजक भएकी उनी बिहीबार फिदिममा भएको पाँचथरका महिला सञ्चारकर्मीहरूको भेलाले अध्यक्षमा चयन गरेको हो ।
महिला पत्रकारहरूको पेसागत सुरक्षासँगै व्यावसायिक पत्रकारितामा जोड्बल गर्दै आएको समूहको उपाध्यक्षमा सरिता तामाङ राई, सचिवमा अनिता राई, सहसचिवमा राधा स्मृति र कोषाध्यक्षमा सीता बुढाथोकी रहेका छन् । समूहको सदस्यमा विमला ढकाल, देविका योङहाङ, सोनिका मुकारुङ, तुलसा राई, सरिता चेम्जोङ, संगीता सुहाङ, अञ्जु नेपाली छन् ।
नवनिर्वाचित अध्यक्ष राईले समूहलाई सक्रिय बनाउने बताइन् । महिला पत्रकारहरूको व्यावसायिकताका लागि क्षमता अभिवृद्धिका कार्यक्रमसँगै पेसागत सुरक्षा र सञ्चार माध्यममा पहुँज बढाउने सवालमा समूहले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै पुराना महिला पत्रकार सरस्वती पराजुलीले महिला पत्रकारहरूको संख्या लोभलाग्दो भए पनि समाचार लेखनमा अत्यन्तै न्यून पत्रकार मात्रै सक्रिय भएको बताइन् । करिब ३ दशकअघि पत्रकारिता गरेकी उनले त्यसबेला पत्रकारिता गर्न धेरै चुनौतीपूर्ण भएको र अहिले निक्कै सहज भएको भन्दै पत्रकारितालाई जीवन निर्वाहको पेसा बनाउन सुझाव दिइन् ।
महिला पत्रकारलाई पुरुष पत्रकारलाई भन्दा बढी व्यवधान आउने गरेको भन्दै पत्रकार महासंघलाई महिला पत्रकारहरूलाई पेसागत विकासका लागि सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति तथा अग्रज पत्रकार कृष्ण ओझा, सचिव गिरीराज वास्कोटा, पूर्व अध्यक्ष लेखनाथ खतिवडा, निवर्तमान अध्यक्ष तथा क्रियाशील संचारकर्मी लक्ष्मी गौतम, क्रान्तिकारी पत्रकार संघका सचिव तथा जुझारु पत्रकार जंग तामाङले पत्रकारितामा सम्भावना रहेको भन्दै महिला पत्रकारहरूलाई सक्रिय पत्रकारितामा लाग्न आग्रह गरे ।
प्रतिक्रिया