बौद्ध सम्मेलन धार्मिक कु : भारतीय मिडिया

काठमाडौं, ६ जेठ । राजधानीमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा पनि चीनले भारतलाई पछाडि पारेको विश्लेषण भारतीय मिडियामा भएको छ । यसलाई ‘चाइनिज लुम्बिनी कू’ र ‘धार्मिक कू’को संज्ञासमेत द न्यु इन्डियन एक्सप्रेसमा यतिश यादवले दिएका छन् ।

उनले समाचारमा राखेका तर्क यस्ता छन्– भारतले नेपालसँग मिलेर सम्मेलनको सह आयोजना गर्ने तयारी १ वर्षअघिदेखि भइरहेको थियो । गएको वर्ष डिसेम्बरमा संस्कृति मन्त्री आनन्दप्रसाद पोखरेलको भ्रमणका क्रममा लुम्बिनीमा कार्यक्रम गर्ने विषय लगभग टुंगो लागिसकेको अवस्था थियो । मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश ल्याएका थिए जसमा भारत र नेपालले मिलेर सम्मेलन आयोजना गर्ने भनिएको थियो । सम्मेलनको थिममा बोधगयाको महत्व स्थापित हुने गरी थप छलफल गर्ने निर्णय भएको थियो । बोधगयालाई भारतीय प्रम नरेन्द्र मोदी बौद्ध जगतको धार्मिक राजधानी बनाउन चाहन्छन् ।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै लेखिएको छ, ‘यसलाई भारत र नेपालबीच बिग्रँदो कुटनीतिक सम्बन्ध सुधार्न आइस ब्रेकरको रूपमा हेरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, संस्कृतिमन्त्री महेश शर्मालगायतलाई निमन्त्रणा गरी भारत नेपालको सम्बन्धमा नयाँ सुरुआत गर्ने योजना थियो । त्यतिबेला चीन दृश्यमा कतै नरहे पनि साइडलाइनमा बसेर हेरिरहेको थियो ।

यही वर्षको मार्च महिनामा नेपालले यो सम्मेलनको थिम लुम्बिनी ः फाउन्टेनहेड अफ बुद्धिजम राख्ने प्रस्ताव ग¥यो । भारतीय पक्ष त्यसमा बोधगयाको थिम पनि राख्न चाहन्थ्यो । भारतबाट एउटा प्रतिनिधि मण्डल नेपाल जाने कुरा थियो । तर, प्रतिनिधि मण्डल पठाउन ढिला हुँदा चीनले मौका पायो । अप्रिलको पहिलो साता बल्ल १ सदस्यीय प्रतिनिधि मण्डल भारतले पठायो तर त्यतिबेलासम्म चीन ब्याक च्यानलबाट धेरै नै सक्रिय भइसकेको थियो । नेपालका संस्कृति मन्त्रीले पूरै सम्मेलन प्रायोजनको अफर चीनलाई गरे ।

आइबिसीले नेपालको भनाइ चिनियाँ भनाइसँग मिलेको र थिम पनि चिनियाँ एजेन्डा भएको बतायो । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको ठाउँ बोधगयाको महत्वलाई काउन्टर दिन लुम्बिनीलाई अघि सार्ने चीनको एजेन्डा नै नेपालको एजेन्डा बन्यो । चिनियाँ मन्त्री लुम्बिनीमा पुगेर प्रोपोगान्डा गरे । यो एउटा सम्मेलनको मात्र विषय होइन । डरलाग्दो विषय के हो भने चीन, नेपाल र अब पाकिस्तान पनि बुद्धको लिगेसीमा भारतलाई छेउमा पार्न योजनावद्ध रूपमा धार्मिक कू गर्दै छ । पाकिस्तानले पनि गन्धरा ट्रेललाई पुनः सुरु गर्ने भन्दै चीन, श्रीलंका र भुटानका भिक्षु, बौद्ध धर्मावलम्बी र रिसर्चरहरूलाई निम्त्याएको थियो । गत महिना श्रीलंकाको बौद्ध प्रतिनिधिले पाकिस्तानको तक्षशीला भ्रमण गरेका थिए भने भुटानका भिक्षुहरूले स्वात उपत्यकाको साइदु सरिफ गुम्बा । चीन, नेपाल र पाकिस्तानविरुद्ध सफ्ट पावर डिप्लोमेसीमा भारतको प्रतिक्रिया निराशाजनक छ । भारत सरकार अबेला हुनुअघि नै जाग्न जरुरी छ ।

भारतीय मिडियामा यस्ता कुरा आइरहँदा प्रधानमन्त्री केपी ओलीले पनि बोधगयालाई छायाँमा पार्ने गरी सम्मेलनमा सम्बोधन गरेका छन् । उनले बुद्धत्वको दर्शन बुद्धभित्रै भएर बुद्धत्व प्राप्ति भएको तर्क गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामीले बुद्ध र बुद्धत्वलाई छुट्याउन सक्दैनौँ । बुद्धत्वको दर्शन बुद्धभित्रै थियो र बुद्धत्व प्राप्ति (इन्लाइटमेन्ट) भयो र विकास भयो ।’

प्रतिक्रिया