चितवन, ५ जेठ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले अनुसन्धानलाई फितलो नहुने गरी उजुरी हाल्न र आयोगलाई सघाउन पीडितहरूसँग आग्रह गरेका छन् । उनले अहिलेसम्म नेपालभर आयोगमा १ हजार २ सय २२ वटा उजुरी परिसकेका जानकारी दिए ।
आयोगले गर्न लागेको काममा सबैले सहयोग गरेमा पीडितले राहत र पीडकलाई सजायको भागी बनाउन सकिने उनको भनाइ रहेको थियो । आयोगले बुधबार सरोकारवालासँग गरेको अन्तक्र्रियामा मल्लिकले द्वन्द्वकालमा देशभरि १ हजार ५ सय ३० जना बेपत्ता भएका तथ्यांक रहेको बताए । अहिले आयोगमा ८२ प्रतिशत उजुरी परिसकेको उनको भनाइ छ ।
प्रतिवेदन व्यवस्थापिका–संसद्मा बुझाउने र जनतामाझ सार्वजनिक गरिने अन्य आयोगभन्दा अहिलेको आयोगलाई कानुनी प्रक्रियाले बाँधेको हुँदा आयोगकोे भएकाले उजुरी गर्न डराउन नपर्नेसमेत उनले बताए । सोही अवसरमा बोल्दै आयोगका सचिव महेश शर्मा पौडेलले आयोगमा परेका उजुरीमध्ये अहिलेसम्म २ सय वटामाथि प्रारम्भिक जाँच सुरु भइसकेको बताए ।
पीडितहरूले बेपत्ता पारिएका परिवारलाई वर्गीकरणका आधारमा परिचयपत्रको व्यवस्था गर्न माग गरेका थिए । परिचयपत्रका आधारमा राज्यले सेवा, सुविधा र परिपूरणको व्यवस्था गर्न सहज हुने उनीहरूको भनाइ थियो । राजनीतिक रूपमा आयोग बनेको हुँदा बेपत्ता पारिएकाको घटनालाई राजनीतिक रूपमा नै समाधान गरिनुपर्ने बेपत्ता परिवार चितवनकी अध्यक्ष निशा न्यौपानेले बताए । दोषीलाई कारबाहीभन्दा सत्यतथ्य कुरा बाहिर ल्याइनुपर्ने पीडितको माग थियो ।
चितवनमा अहिले करिब ४० घरपरिवारका सदस्य बेपत्ता रहेका छन् । यसमध्ये सरकारी विवरणमा २९ जनाको नाम सूचीकृत छ । सूचीकृतमध्ये १ जना विद्रोही पक्षबाट र बाँकी राज्य पक्षबाट बेपत्ता पारिएको स्थानीय शान्ति समिति चितवनले जनाएको छ ।
प्रतिक्रिया