युवा संघको अधिवेशन अलगअलग ठाउँमा

जाजरकोट, ५ जेठ । एमालेको भ्रातृ संगठन युवा संंघ नेपाल जाजरकोटको सातौँ जिल्ला अधिवेशन २ फरकफरक स्थानमा सम्पन्न भएको छ । वैशाख ३ गते जाजरकोटको सदरमुकाम भेरी मालिका नगरपालिकास्थित जिल्ला विकास समितिको सभाहलमा युवा संघ नेपालका केन्द्रिय सचिव अशोक चन्दको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । सोही दिन जिल्लाको पश्चिमी क्षेत्र थलहमा युवा संघ नेपालका केन्द्रीय सदस्य रमेश पौडेलको प्रमुख आतिथ्यता र युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहाडी र जिल्लाका केही पदाधिकारीको उपस्थितिमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

बन्दसत्र ४ जेठमा भेरी मालिका नगरपालिका–३ ठाँटीबजारस्थित सनराइज रिभर भ्यू कटेजमा भएको हो । जिल्लाका १ नगरपालिका र २२ गाविसका प्रतिनिधिको सहभागिता रहेको अधिवेशनले विश्वविक्रम शाहको अध्यक्षतमा कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्ष वीरबहादुर घर्ती, सचिव नविन बस्नेत र कोषाध्यक्ष धनमाया वलीलगायत ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

यसैगरी सोही दिन थलहमा भएको अधिवेशनमा अध्यक्ष दीपेन्द्र शाहीलगायत २३ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन भएको जनाइएको छ । एमालेमा रहेको चर्को गुटबन्दीका कारण युवा संघको २ ठाउँमा अधिवेशन भएको अध्यक्ष विश्वविक्रम शाहले जानकारी दिए । उनले भने, ‘पार्टी भित्रकै आन्तरिक गुटबन्दी र प्यानल देखाएर अस्वस्थ प्रतिस्पर्धा गराउँदा पार्टी नै कमजोर हुने देखिएको छ ।’

‘आगामी दिनमा यस्ता पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई सक्षम क्षमतावान युवा संघ टिमले नै तह लगाउँछौँ,’ अध्यक्ष शाहले बताए । यस सातौँ अधिवेशनले एमाले जाजरकोटमा अझ गुट उपगुट हुन सक्ने संकेत देखिएको छ ।

प्रतिक्रिया