बासी परबलमा हरियो रंग दल्ने गिरोह पक्राउ

नेपालगञ्ज । नेपालगन्जस्थित थोक तरकारी बजारबाट अखाद्य रङ दलेर बिक्री गर्न राखिएको ४ बोरा परबलसहित ३ जना भारतीयलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बासी परबललाई हरियो रङ दलेर बिक्री गर्ने गिरोह मध्येका भारतीय नागरिक लाकराम सोनकर, कृपाराम सोनकर र लखीराम सोनकरलाई पक्राउ गरिएको हो ।

बाँकेको सीमापारी भारतीय बजार रूपैडिया थोक तरकारी बजारबाट बिक्री नभएर पहेँलो हुन लागेको बासी परबल सस्तोमा किनेर नेपालगञ्ज तरकारी थोक बजारमा रङ दलेर लामो समयदेखि बिक्री गर्ने गिरोह नै यहाँ सक्रिय रहेको रहस्यसमेत खुलेको छ । नेपालगन्जस्थित थोक तरकारी बजारबाट खुद्रा तरकारी व्यवसायीले र अत्यधिक ग्राहकले तरकारी किन्ने गरेको र यस्तो अखाद्य तरकारी सेवनबाट क्यान्सर जस्तो रोग लाग्नुका साथै कलेजो र मृगौलामा समस्या आउने क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमल दाहालले बताए । (सौस)

प्रतिक्रिया