काठमाडौं, ५ जेठ । उपप्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले अपांगताका क्षेत्रमा रहेका समस्याको समाधानका लागि राजनीतिक पार्टीले गम्भीरतापूर्वक लिई उनीहरूको माग सम्बोधन गर्नुपर्ने बताएका छन ।
सुस्तश्रवणका अधिकारका क्षेत्रमा कार्यरत श्रुति संस्थाले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री मैनालीले अपांगताका क्षेत्रमा कार्यरत मन्त्रालय तथा विभिन्न संघ संस्थाबीच समन्वय आवश्यक रहेको बताउँदै अपांगता भएकाको शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधानका लागि सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिए ।
नेपालको शिक्षा प्रणाली सुस्तश्रवण तथा बहिरामैत्री हुनुपर्ने बताउँदै उनले भने,‘अपांगता भएकाहरूको क्षेत्रमा विभिन्न काम भएका छन् तर त्यो अपर्याप्त छ । विभिन्न निकायमा दोभाषेको व्यवस्था हुनुपर्ने माग उठिरहेको छ तर दक्ष जनशक्तिको अभावमा त्यो पूरा हुनसकेको छैन ।’
शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले अपांगता भएका विद्यार्थीलाई छात्रवृत्तिका लागि सरकारले वार्षिक ३० करोड छुट्याउने गरेको जानकारी दिँदै हाल १ दशमलव ९७ प्रतिशत अपांगता भएका विद्यार्थी रहेको बताए । श्रुतिका अध्यक्ष नीताकेशरी भट्टराईले अन्य अपांगताभन्दा सुस्तश्रवण तथा बहिराको समस्या भिन्न रहेको बताउँदै कूल जनसंख्याको ० दशमलव ३१ प्रतिशत सुस्तश्रवण तथा बहिराको संख्या रहेको जानकारी दिए । अपांगताका क्षेत्रमा कार्यरत वीरेन्द्रराज पोखरेलले सुस्तश्रवण तथा बहिराहरू समाचारबाट टाढा रहनुपर्ने बाध्यता रहेको बताउँदै सरकारले नेपालमा रहेका विभिन्न सञ्चारमाध्यममध्ये टेलिभिजनमा आउने समाचारलाई ‘क्याप्सनिङ्’ गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
कार्यक्रममा चिकित्सक ईश्वर देवकोटाले ८० डेसिबलभन्दा बढी आवाजमा लामो समय बस्दा कानका लागि हानिकारक हुने भएकाले त्यसबाट बच्न सबैलाई आग्रह गरे ।
प्रतिक्रिया