बुद्ध जयन्ती तथा लुम्बिनी उत्सवको तयारी तीव्र

maya-devi-temple_2876010_lबुटवल, ४ जेठ । २५६०औँ बुद्धजयन्ती तथा लुम्बिनी उत्सव नजिकिँदै गर्दा लुम्बिनीमा यसको तयारी तीव्र पारिएको छ । लुम्बिनी विकास कोषका विभिन्न तयारी उपसमितिहरूले दिनरात काम गरिरहेका छन् ।

लुम्बिनीको मायादेवी मन्दिर, परिक्रमा पोखरी र विभिन्न सर्भिस सडकहरूमा सरसफाई र रंगरोगनका कामहरू भइरहेका छन् । दुईपटक टेन्डर आव्हान गर्दासमेत ठेक्का नलागेपछि कोषले मायादेवी मन्दिरको रंगरोगन, पोखरीहरूको सरसफाईलगायत कामहरू अमानत प्रकृयाबाट गराइरहेको छ । चारैतिर झन्डा, तुल ब्यानर र पतकाहरूले लुम्बिनी विकास कोष क्षेत्र दुलही झैँ सिंगारिएको छ । कोष क्षेत्रभित्र बगैँचाहरूको मर्मत, सडकहरूको मर्मत, फुटेका टायल वा इँटाको मर्मतलगायत काम गर्न दैनिक २ सयभन्दा बढी कामदार खटाइएका छन् ।

परिक्रमा पोखरी वरिपरिको घाँस काटेर सफा गरिएका कारण त्यो क्षेत्र सुन्दर देखिए पनि पोखरीमा पानी सुकेका कारण केही खल्लो महसुस भएको छ । कोषले आफ्नो क्षेत्र भित्र र बाहिरसमेत सरसफाइका काम गरिरहेको कोषका प्रशासन प्रमुख चुडामणी भट्टराईले बताए । शान्तिदीपदेखि मायादेवी मन्दिर, पर्सा चौराहादेखि बुद्ध जयन्तीको मूख्य समारोह स्थल म्युजियमसम्म र केन्द्रीय नहरको दायाँबायाँसमेत ध्वजापतकाले झकिझकाउ पारिएको छ ।

कोष क्षेत्रभित्र र बाहिर बनाइएका अस्थायी टहरा, टंकी, त्रिपालहरू हटाएर मायादेवी मन्दिर प्रवेश गर्ने मूख्यद्वार खाली गरिएको छ । उक्त क्षेत्रमा जेठ ६ देखि ८ गतेसम्म सवारी पार्किडसमेत निषेध गरिएको लुम्बिनी विकास कोषका सुरक्षा अधिकृत लीलाबहादुर श्रेष्ठले बताए । बुद्ध जयन्ती मूल समारोह स्थलमा भव्य टेन्ट लगाउन भैरहवास्थित पटवा टेन्टसँग २० लाख रुपियाँमा सम्झौता गरिएको छ । काठमाडौंमा आयोजना हुने बौद्ध गोष्ठीमा सहभागी हुन आउने विदेशी पाहुनाहरूसमेत बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउने कार्यक्रम रहेकाले लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसैगरी बुद्ध जयन्तीको अवसर पारेर होटल एसोसिएसन लुम्बिनीले आयोजना गरेको लुम्बिनी उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उत्सवको तयारी स्वरूप लुम्बिनीस्थित महिलवार बजार सिंगारिएको छ । प्रत्येक घरमा दीपावलीका लागि स्थानीयले तयारी गरेका छन् । लुम्बिनी उत्सवकै अवसरमा मूख्यद्वारसहित अधिकांश क्षेत्रमा भएको फोहोर हटाउन मंगलबार बृहत् सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । होटल एसोसिएसनले आयोजना गरेको सरसफाइ कार्यक्रममा स्थानीय युवा क्लब, महिला समूह, नागरिक वडा मञ्च, प्रहरी, रिक्सा तथा पर्यटन व्यवसायीसमेत सहभागी हुँदै छन् । एसोसिएसनको पहलमा पहिलोपटक लुम्बिनीका प्रत्येक घरबाट एकएक जना सरसफाइमा सहभागी हुने लुम्बिनी उत्सवका संयोजक प्रदीप आचार्यले बताए । उत्सवअन्तर्गत ६ देखि ८ गतेसम्म साँझमा स्थानीय विराहा संस्कृतिको प्रदर्शन गर्ने, दीपावली गर्ने, फूल मुन प्रे गर्ने, बौद्ध प्रार्थना गर्ने, बुद्ध जयन्तीमा सहभागी हुन आउनेहरूलाई निःशुल्क चिसो पानी खुवाउने, प्राथमिक उपचार सेवा पु¥याउनेलगायत कार्यक्रम छन् ।

प्रतिक्रिया