काभ्रे, ४ जेठ । उपभोक्ता ठगीको अभियोगमा फरार रहँदै आएका काभ्रे सिथ नारायण आयल स्टोर्स जनागालका प्रोपाइटर घनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेले पुर्पक्षमा राख्न आदेश दिएको छ । अघोषित नाकाबन्दीको बेला प्रहरीले कालो बजारी भइरहेको भन्दै पम्पमा सिल्ड लगाएर कारबाही सुरु गरेपछि उनी फरार रहँदै आएका थिए ।
उनी गत सोमबार आफँै अदालतमा उपस्थित भएर बयान दिएका थिए । बयानपछि उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पम्पको अनुगमनका क्रममा कागजात नवीकरणका आधारमा नारायण आयल स्टोर्सका प्रोपाइटर घनश्याम खत्रीले ०७२ असार ४ गतेदेखि ०७२ मंसिर १० गतेसम्म ११ लाख ५४ हजार ४ सय २२ रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । त्यस्तै अर्का पेट्रोल पम्पधनी मध्ये पार्वती विष्ट ०७२ चैत १७ गते अदालतमा उपस्थित भई बयान दिएपछि न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले ७ लाख धरौटीमा छाडेको थियो । उनले खत्रीलाई भाडामा दिएकाले विष्टको उपभोक्ता ठगीमा संलग्नता देखिएको थिएन ।
खत्रीले जिल्लाका अन्य पम्पहरूमा अनुगमन सुरु भएपछि आफ्नो पम्पमा राखिएको डबल मेसिनलाई निकाल्न पम्पमा लगाएको सिलसमेत काटेका थिए अनुगमनको केही दिन अघि काटेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले ६ वटै पम्पका पम्पधनीहरूलाई उपभोक्ता ठगी र कालोबजारीमा मुद्दा चलाएको थियो भने नेपाल गुणस्तर तथा नाप तौल विभागले नाप तौल बिगारी उपभोक्ता ठगी गरेको अभियोगमा मुद्दा दायर गरेको छ । खत्रीलगायत केही व्यवसायीहरू फरार रहँदै आएका थिए । प्रहरीले केही पम्पका व्यवसायीलाई भने ०७२ मंसिरमै पक्राउ गरी मुद्दा दायर गरेको थियो । पछिल्लो समय पाँचखालका उमेश बानियाँलाई पनि जिल्ला अदालत काभ्रेले पुर्पक्षमा राख्न आदेश दिएको थियो । काभ्रेमा अरू पम्प धनीहरूलाई पनि पुर्पक्षमा राखेर कारबाही सुरु गरिएको थियो ।
प्रतिक्रिया