काठमाडौं, ४ जेठ । ‘सुनौला एक हजार दिनको जनजागरण अभियान’का प्रवद्र्धकमा हास्य कलाकारत्रय जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त भएका छन् । गर्भधारण भएदेखि शिशु २ वर्षको समयावधि (एक हजार दिन)मा गर्भवती तथा तिनका अभिभावकलाई पोषणको महत्व, जानकारी तथा व्यवहार परिवर्तन गर्न नेपाल सरकारअन्तर्गतका विभिन्न मन्त्रालयले बहुक्षेत्रीय पोषण योजनालाई थप कार्यान्वयन गर्ने क्रममा सो अभियान सुरु गरिएको हो ।
यसअघि सो अभियानअन्तर्गत पोषण तथा खाद्य सुरक्षाका राष्ट्रिय दूतका रूपमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई चयन गरिएको थियो । राष्ट्रिय योजना आयोग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को आर्थिक एवं प्राविधिक सहयोगमा मंगलबार यहाँ आयोजित कार्यक्रममा योजना आयोगका सदस्य प्राडा गीतभक्त जोशी र ती कलाकारका बीच प्रवद्र्धनसम्बन्धी द्विपक्षीय समझदारी भएको थियो ।
कलाकार गिरी र निरौलाले ‘तीतो सत्य’ र कलाकार नेपाल ‘जिरे खुर्सानी’ नामक हास्य कार्यक्रममार्फत चिरपरिचत छन् । नेपाल पनि धेरै शिशु कुपोषित हुने दक्षिण एसियाका देशभित्र पर्छ । युनिसेफका अनुसार हाल नेपालमा १३ लाख बालबालिका कुनै न कुनै रूपमा कुपोषित छन् । जन्मिने बालबालिकालाई कुषोषणरहित बनाउन युनिसेफले सञ्चालन गरिरहेको सो अभियानमा ५७ देश आबद्ध छन् ।
अभियानकाबारेमा योजना आयोगका सदस्य प्राडा जोशीले गर्भवती र २ वर्षभित्रका शिशुलाई थप पोषणयुक्त खानाको आवश्यकता पर्ने हुँदा सुनौला १ हजार अभियानले यसलाई विशेष रूपमा समुदाय तथा घर घरमा पु¥याउने काम गर्ने बताए । नेपालस्थित युनिसेफका प्रतिनिधि टोमोहो जुमीले गर्भवती र तिनबाट जन्मिने शिशुलाई थप पोषणको आवश्यकता हुने भएकाले यसका बारेमा समुदायलाई सुसूचित गराउन अभियानमा युनिसेफले सहयोग गरेको जानकारी दिए । योजना आयोगका सहसचिव मधुकुमार मरासिनीले समाजका हरेक क्षेत्रले अभियानका बारेमा पैरवी गर्न आवश्यक रहेको बताए । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्तीले गर्भावस्थादेखि २ वर्षभित्र शिशुको ८० प्रतिशत बौद्धिक विकास हुने बताए ।
अभियानका राष्ट्रिय दूत पारस खड्काले पोषणको महत्वका बारेमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिने जानकारी दिए । उनले भने, ‘बच्चामा म धेरै फुल खान्थेँ, प्रोटिन धेरै भएर होला, अग्लो भएँ । अहिले बुझ्दै छु पोषणको महत्वका बारेमा ।’
प्रवद्र्धक गिरीले अभियानका बारेमा दर्शकको रोजाइ अनुसार नयाँ कार्यक्रम लिएर दर्शकसामु आउने जानकारी दिँदै बच्चालाई तीतो औषधि मन पर्दैन, यसमा गुलियो मिलाएर खुवाउँदा मन पराउने उदाहरण दिएका थिए । सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको समेत उपस्थिति थियो । यसैबीच युनिसेफले अभियानको ढाँचा, संरचना, सञ्चार रणनीति र क्रियाकिलापका बारेमा जिल्ला जनस्वास्थ्यका पोषण र स्वास्थ्य शिक्षा हेर्ने अधिकृतलाई अभिमुखीकरण दिएको छ । सो अभिमुखीकरणमा १६ जिल्लाका अधिकृतको सहभागिता थियो ।
प्रतिक्रिया