दोहोरो नागरिकतावाला पक्राउ

काभ्रे, ३ जेठ । सम्बन्धबिच्छेद गरेको दुई दिनपछि पूर्व श्रीमतीले दोहोरो नागरिकता र राहदानी लिएको उजुरी दिएपछि काभ्रेपलाञ्चोकका एक युवालाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लाको महाकालचौर गाविस–९ बस्ने ३६ वर्षीय दीपक थापाले काभ्रेपलाञ्चोक र काठमाडौंबाट वैदेशिक रोजगारीमा जाँदा उमेर घटाएर र वास्तविक उमेरमा दुईवटा नागरिकता र राहदानी बनाएकाले उनलाई काठमाडौंमा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंमा पक्राउ परेका उनलाई धुलिखेल ल्याइएको काभ्रे प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । श्रीमती सम्झना थापाले दीपकसँग काठमाडौं जिल्ला अदालतमा २८ चैत ०७२ मा सम्बन्धबिच्छेद गर्दै ३० चैतमा उनीविरुद्ध दोहोरो नागरिकता र राहदानी लिएको उजुरी प्रहरीमा दर्ता गराएकी थिइन् । वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा रहेका दीपक सम्बन्धबिच्छेद हुनु १७ दिनअघि मात्रै नेपाल फर्केका थिए ।

दीपकले ०५१ वैशाख १२ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट र ०५८ असार १० गते जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट नागरिकता र राहदानी बनाएको प्रहरीले जनाएको छ । जिप्रका, धुलिखेलका प्रनाउ नवीनराज राईले उनलाई कीर्ते नागरिकतासम्बन्धी मुद्दा चलाइने बताए । बहुविवाहको मुद्दा टुंगो लागेपछि दोहोरो नागरिकता लिएको आरोपमा वैशाख १५ गते काठमाडौं प्रहरीले जिप्रका धुलिखेल पठाएको थियो । यसैबीच, बहुविवाहको अरोपमा काभ्रेपालञ्चोक पाँचखाल नगरपालिका–१० बस्ने हरिचन्द्र दनुवार, सोही ठाउँ बस्ने निजको कान्छी श्रीमती सिर्जना दनुवार र काभ्रेपलाञ्चोक जिल्ला विर्तादेउराली गाविस–५ घर हुने चस्मे बुढा भन्ने अष्टमान तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

प्रतिक्रिया