पत्रकारले बनाए विद्यालय भवन

चितवन, ३ जेठ । चितवनका पत्रकारको सामाजिक अभियान हामीले नगरे कसले गर्नेले चितवनको विकट चेपाङ गाउँमा विद्यालय बनाएको छ । गतसाल वैशाख १२ गतेको भूकम्पले भत्काएको लोथर गाविस–७ स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको २ कोठे भवन समुदायमा हस्तान्तरण गरिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले विद्यालय भवनको आइतबार उद्घाटन गरेका हुन । जिल्ला सदरमुकामबाट उत्तरपूर्वी लोथर गाविसको सिरानमा पर्ने सो गाउँमा टोलीले ६ महिना लगाएर करिब १८ लाख रुपैयाँको लागतमा विद्यालय भवन बनाएको हो । देश विदेशबाट नेपाली तथा विदेशीले संकलन गरी पठाएको रकम संयोजन गरी अभियानले भवन पुनःनिर्माण गरेको अध्यक्ष विनोद रिजालले जानकारी दिए ।

जिल्ला सदरमुकामबाट करिब सात घन्टा लगाएर सो ठाउँमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सिंह, जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याललगायत सरकारी अधिकारीले विकट क्षेत्रमा आएर पत्रकारको टोलीले गरेको यो प्रयास अनुकरणीय रहेको बताए । भवन निर्माणका लागि सबैभन्दा बढी चितवन सहायता कोष (क्याट) बेल्जियमले सहयोग गरेको छ । क्याटमार्फत प्रभा न्यौपाने र रेणुकान्त न्यौपानेले ७ लाख ५० हजार रकम सहयोग गरेको अभियानले जनाएको छ ।

प्रतिक्रिया