रेविका बचाउ अभियान प्रवासी खोटाङेहरु एक जुट

खोटाङ, ३ जेठ । ट्युमर बढेर मुखै बन्द भएकी खोटाङकी १४ वर्षीया रेविका राईको उपचारका लागि मलेसिया, कतार र जापानमा ‘रेविका बचाउ’ अभियान सुरु गरिएको छ । बढ्दै गएको मुखको ट्युमरका कारण बोल्न, खाना खान र हाँस्नै नहुने अवस्थामा पुगेकी रेविकाको उपचारमा सहयोग गर्ने उद्देश्यले मलेसियामा रहनुभएका चिसाङ शेर्पाको पहलमा ‘रेविका बचाउ’ अभियान सुरु गरिएको हो ।

उपचारका लागि हाल भारतको कलकत्ता पु¥याइएकी जिल्लाको पूर्वी गाविस बाँझेच्यानडाँडा–८ की रेविकाको बचाउमा मलेसिया, कतार र जापानमा ‘पीडित बालिका बचाउ’ नामक फेसबुक ग्रुप च्याट सञ्चालनमा ल्याइएको अभियन्ता शेर्पाले जानकारी दिए । रेविकाको चौथो पटकको उपचारका लागि वैशाख २३ गते बुधबार भारतको कलकत्तातर्फ लगिएको छ । फेसबुक अभियान सुरु गरिएको चौथो दिनमै २३ हजार ८९ रुपैयाँ संकलन भइसकेको अभियानकर्तामध्येका सूर्य चाम्लिङले जानकारी दिए । रेविका बचाउका लागि कतारमा दोर्ची शेर्पा र जापानमा फुर्बा शेर्पाले अभियान सञ्चालन गरिरहेका छन् ।

रेविकाको ट्युमरको उपचारका लागि शुभेच्छुकबाट उपचार खर्च जुट्ने क्रम जारी छ । यसअघि शुभेच्छुक श्रवण बम्जनको संयोजनमा कुवेत, अमेरिका, दक्षिण कोरिया, कतार, हङकङ, नेदरल्यान्ड, युएइ र काठमाडौंवासी नेपालीबाट संकलन भएको ४ लाख ४८ हजार ९ सय ९२, तेज राईको संयोजनमा संकलन भएको १ लाख ११ हजार १ सय १५, युकेवासी धनकुमार राई, कल्पना राई र भोलाविक्रम राईको पहलमा संकलन भएको ४ लाख ४९ हजार ५ सय ७० रुपैयाँ लगायत सहयोग रकम रेविका परिवारलाई प्राप्त भइसकेको छ ।

लामो समयदेखि क्यान्सर पीडित बनेकी रेविकाको चौथो पटकको उपचारका लागि कलकत्ता लगिएको पारिवारिक स्रोतले जनाएको छ । रेविकाको साथमा आमा सन्ध्या र घरबेटी एलिसा कार्की गएका छन् । माथिल्लो दाँत अडिने हाड र गिजाको ट्युमर बढेर ठूलो आकार लिएपछि रेविकाले कष्टपूर्ण दिन बिताइरहेकी छन् । ३ पटकसम्म शल्यक्रिया गर्दा पनि रेविकाको ट्युमर ठीक नभएपछि कलकत्ता लगिएको हो ।

प्रतिक्रिया