बहिनीको स्मृतिमा शैक्षिक सहयोग

pachtharपाँचथर, ३ जेठ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मदन भट्टराईले आफ्नी दिवंगत बहिनीको स्मृतिमा बहिनीले अध्ययन गरेको विद्यालयका लागि विज्ञान प्रयोगशालाका सामग्री तथा स्थानीय ३ वटा विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सहयोग प्रदान गरेका छन् । भट्टराईले परिवारसमेतको सहयोगमा जिल्लाको अमरपुरको सिंहपुर भगवती माविका लागि विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू उपलब्ध गराएका हुन् ।

गतवर्षको जेठ २ गतेका दिन आफ्नी बहिनी रमिलाको लडेर निधन भएको स्मृतिमा भट्टराईले उक्त सहयोग प्रदान गरिएको विद्यालयले जनाएको छ । आइतबार आफ्नै घरमा स्मृति कार्यक्रमको आयोजना गरी भट्टराई परिवारले विद्यालयलाई प्रयोगशालाका सामग्रीहरू प्रदान गरे । सोही अवसरमा रमिलाले अध्ययन गरेको सिंहपुर मावि, जनता प्रावि र नमूना प्राविका १८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।

बहिनीको निधनको पीडालाई कम गर्ने उपाय खोज्ने क्रममा के–के सहयोग गर्न सकिन्छ भनेर आफूलाई लागेको उनले बताए । सामग्री हस्तान्तरण कार्यक्रममा भट्टराईले भने ‘बहिनीले पढ्ने विद्यालयलाई नै सहयोग गर्ने उद्देश्यले विज्ञान प्रयोगशालाका सामग्रीहरू खरिद गरेर प्रदान गरेको छु ।’ भट्टराईले विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू विद्यालयले दिएको सल्लाहको आधारमा खरिद गरिदिएका हुन् ।

उनले करिब ४० हजार रुपैयाँ पर्ने विज्ञान प्रयोगशालाका सामग्रीहरू र ७ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका छन् । यस्तै रमिलाको स्मृतिमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको पढाइमा सहयोग पु¥याउने उद्देश्यसहित सिंहपुर पशुपति माविमा रहनेगरी एक अक्षयकोष स्थापना गर्ने तयारी परिवारले गरेको छ । ३० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेर त्यसलाई भावी दिनमा वृद्धिसमेत गर्ने लक्ष्य लिइएको रमिलाका बाबु लोकबहादुर भट्टराईले बताए ।

उनकै घरमा आयोजित रमिलाको प्रथम स्मृति दिवस तथा सामग्री हस्तान्तरण कार्यक्रमलाई अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य खड्ग सम्बाहाम्फे, अमरपुर गाविसका राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूले आफ्ना भनाइहरू राखेका थिए । कार्यक्रममा भवानी लिङ्देन, कांग्रेसका स्थानीय नेता हरिकेशर न्यौपाने, एमाले क्षेत्रीय सदस्य गोपी भण्डारी, एमाओवादीका स्थानीय नेता भीम वाग्ले, सिंहपुर पशुपति माविकी प्रधानाध्यापक भीमकुमारी भण्डारी लगायतले भट्टराई परिवारले पुण्यतिथिमा धार्मिक कार्यका अतिरिक्त शिक्षा क्षेत्रमा सहयोग गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया