कुरा मिल्नेबीच एकता : पूर्वपञ्च

काठमाडौं, ३ जेठ । हिन्दू राज्य र राजतन्त्र मान्नेको एउटा बलियो पार्टी बनाउनुपर्ने मान्यता राख्ने पूर्वपञ्चहरूको आइतबारको भेलाले ६ महिनाभित्र पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन् । भर्खरै राप्रपा नेपालबाट छुट्टिएका केशरबहादुर विष्टले संयोजन गरेको भेलामा अधिकांश नेताहरूले ६ महिनाभित्र महाधिवेशन गरेर पार्टी एकता गर्नुपर्नेमा जोड दिए ।

विष्टका अनुसार, बरिष्ठ नेताको अध्यक्षतामा महाधिवेशन समिति बनाएर अघि बढ्ने तयारी भइरहेको छ । भेलाले राप्रपा, राप्रपा नेपाल, राप्रपा समानान्तर जस्ता पूर्वपञ्चहरूका पार्टीबीच एकता गर्ने तयारी गर्न निश्कर्ष निकालेको हो । ‘महाधिवेशनमा जसले प्रतिस्पर्धा गर्दैन उसैको नेतृत्वमा पार्टी एकीकृत गर्ने र ६ महिनामा महाधिवेशन गर्ने कुरा छ,’ विष्टले भने ।

सहमतिमा आए सबै राप्रपाबीच एकता हुन्छ नभए जतिको कुरा मिल्छ तिनैबीच एकता हुने उनले बताए । विष्टले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि एकताको छलफल भइरहेको भए पनि ऊ यो एकतामा आउँछ कि आउँदैन अहिलै अनुमान गर्न नसकिने बताए । विष्टले थापाको पार्टी नआए पनि अन्य राप्रपाबीच एकता हुने विश्वास व्यक्त गरे ।

तर, राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले राप्रपा र राप्रपा नेपालबीच हुन लागेको एकता भाँड्नका लागि विष्टले नयाँ प्रस्ताव ल्याएको आरोप लगाए । ‘लोकेन्द्रबहादुर चन्द र कमल थापा अध्यक्ष भएको राप्रपा र राप्रपा नेपालबीच एकता हुने चरणमा छ । केही विषयमा सहमति नजिक पुगेको छ’, उनले भने, ‘यही एकता हुन नदिने षड्यन्त्रमा पार्टीले कारबाही गरेका मान्छेहरू लागेका छन् ।’

राप्रपाहरूबीच बृहत्तर शक्ति निर्माण गर्ने नीति भएको तर हाललाई २ राप्रपाको एकता हुने जानकारी श्रेष्ठले दिए ।

प्रतिक्रिया