गठबन्धनको सिंहदरबार घेराउ जारी रहने

singhadarbar-gherauकाठमाडौं, २ जेठ । संघीय गठबन्धनले घोषणा गरेको ‘राष्ट्रिय आन्दोलन’अन्तर्गत आइतबार सिंहदरबार घेराउको कार्यक्रम आयोजना गरेको छ । घेराउले राजधानीको ट्राफिक व्यवस्थालाई अस्तव्यस्त पारे पनि जुन प्रकारको ‘धक्का’ दिने घोषणा गठबन्धनले गरेको थियो, त्यस अनुरूप सडकमा कार्यकर्ता उतार्न भने गठबन्धन असफल भएको पाइएको छ । मधेस आन्दोलनपछि गरिएको दोस्रो चरणको आन्दोलनमा उल्लेख्य रूपमा कार्यकर्ताहरू काठमाडौंमा उत्रनेछन् भन्ने आँकलनका साथ प्रहरीले व्यापक तयारी गरेको थियो । फिल्डमा २ एसपीको कमान्डमा सशस्त्र र जनपद गरी २५ सय प्रहरी खटाएको थियो ।

तर, गठबन्धनका कार्यकर्ताहरूको न्यून उपस्थितिले प्रहरी हौसिरहेका थिए । ‘हामीभन्दा थोरै छन् आन्दोलनकारी । हामी २५ सय जति छौँ, उनीहरू १५ सयमै सीमित छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापा भनिरहेका थिए ।

आइतबारको कार्यक्रम असफल जस्तै देखिनुमा गठबन्धनमा रहेको मधेसी मोर्चाभित्रको ‘टसल’ भएको मोर्चाकै नेताहरू बताउँछन् । आन्दोलनको कार्यक्रम सुरु हुनअघि नै गठबन्धनमा असन्तुष्टि सुरु भइसकेको थियो । सद्भावना पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीले गठबन्धनको बैठकलाई बहिष्कार नै गर्दै आइरहेका थिए । ३१ वैशाख आन्दोलनको पूर्वसन्ध्यामा गठबन्धनको पत्रकारसम्मेलनमा दुवै पार्टीका नेताहरू उपस्थित भएर ‘कुनै विवाद छैन’ भने पनि यथार्थ त्यस्तो देखिएन । आइतबारको कार्यक्रममा विवादको झल्को प्रष्ट देखिएको छ ।

गठबन्धनका संयोजक उपेन्द्र यादवको कमान्डमा माइतीघर क्षेत्र रहेको थियो भने राजेन्द्र महतोको कमान्डमा हनुमानथान क्षेत्र रहेको थियो । यादवको कमान्डमा रहेको क्षेत्रमा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो त्यही महतोको क्षेत्रमा २ सयको हराहारीमा मात्र कार्यकर्ताहरू रहेका थिए ।

यादवले झापादेखि कैलालीसम्मका आफ्ना कार्यकर्ताहरूलाई आइतबारको कार्यक्रममा उपस्थित गराएका थिए । तर, महतोको कमान्डमा रहेको क्षेत्रमा पार्टीका सक्रिय केही नेताबाहेक अन्य कार्यकर्ताको उपस्थिति देखिएन । महतोले आइतबारकै कार्यक्रमलाई भनेर २ हजार झन्डा तयार गरेका थिए । तर, त्यो उनकै पार्टी कार्यालयमा थन्किएको छ ।

यादवले मोर्चालाई बेवास्ता गर्दै जनजाति पार्टीहरूसँग मिलेर गठबन्धन गठन गरेदेखि नै मधेसी मोर्चाका अन्य नेता सशंकित रहेका छन् । विशेष गरेर मधेस आन्दोलनताका हिट रहेका महतो सबैभन्दा बढी सशंकित छन् । संयोजकको दाबेदार भएका कारण पनि उनी यादवसँग सन्तुष्ट छैनन् । मोर्चालाई गठबन्धनमा विलय गराएको भन्दै उनले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।

यस आन्दोलनको सबै श्रेय उपेन्द्रले लाने देखेपछि अन्य नेता असन्तुष्ट छन् । त्यही भएर आइतबारको कार्यक्रममा उनले कम कार्यकर्ता उतारेको मोर्चाका नेताहरूको आरोप छ ।

गठबन्धनको संयोजक बन्ने विषयमा पनि ठूलो विवाद देखिएको थियो । आफूलाई संयोजक नबनाएपछि तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि असन्तुष्ट छन् । यही आन्दोलनकै कारण उनले ३ दिने भारत बसाइँलाई लम्बाएको स्रोत बताउँछ । यसअघि विद्यार्थीको अधिवेशनमा पनि भाग लिनसमेत उनी आएनन् ।

यता, २ महिना अघिदेखि तय भएको कार्यक्रम छाडेर वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी जिल्ला गएका छन् । शनिबारसम्म काठमाडौंमा रहेका उनी महाधिवेशनको तयारी भन्दै जिल्ला झरे । नवलपरासीमा ६ देखि ८ असारमा पार्टीको महाधिवेशन तय गरिएको छ । उता, जितेन्द्र सोनल केही कार्यकर्तासँग नागढुंगामै अड्किएका छन् ।

त्यस्तै महेन्द्रराय यादवको पार्टी सानो छ । उनीसँग कार्यकर्ता कमै छन् । त्यस्तै राजकिशोर यादवको पार्टीमा उनका श्रीमती र केही नेता मात्र बाँकी छन् ।

प्रतिक्रिया