संक्षेप

न्युयोर्क टाइम्स पूर्वाग्रहीः अख्तियार
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको मे ११ को अंकमा छापिएको सम्पादकीय तथ्यमा आधारित नभएको बताएको छ । ‘सम्पादकीयले कणकमणि दीक्षितलाई स्वच्छ चरित्रका नागरिक समाजका अगुवा भएको र उनको आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग दुस्मनी भएको र उनले अनुसन्धानमा सघाएको कुरा लेखिएको उल्लेख गर्दै आयोगले तथ्यलाई बंग्याइएको र पूर्वाग्रही बनेको जनाएको छ ।

पाठकलाई भ्रममा पार्न गलत नियत राखेर त्यो सम्पादकीय छापिएको भन्दै विश्वको प्रतिष्ठित पत्रिकाले तथ्यलाई बंग्याउनु दुःखद कुरा भएको आयोगले जनाएको छ । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सत्य के हो भने आफूविरुद्ध परेको उजुरीको छानबिनमा दीक्षितले सुरुदेखि नै अनुसन्धान प्रक्रियामा असहयोग गरेका थिए ।’ विज्ञप्तिमा सम्पादकीयमा उल्लेख भएको क्यानडेली नागरिक रोबर्ट पेनरलाई फिर्ता पठाएको बारेमा आयोगलाई कुनै जानकारी नभएको बताइएको छ । (सौस)

आरोप पुष्टि गर्न चुनौती दिन्छु : राजदूत उपाध्याय
काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफूमाथि सरकार परिवर्तनको खेलमा लागेको आरोप पुष्टि गरेर देखाउन सरकारका मन्त्रीहरूलाई चुनौति दिएका छन् । उपाध्यायले आइतबार स्वदेश फर्कनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकार परिवर्तनको खेलमा लागेको आरोप पुष्टि भए सार्वजनिक जीवन नै त्याग गर्ने बताए । एकसाता पहिले एमाओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले सार्वजनिक कार्यक्रममार्फत नै राजदूत उपाध्यायमाथि भारतमा बसेर सरकार परिवर्तनको खेलमा सहभागी भएको आरोप लगाएका थिए ।

राजदूत उपाध्यायले आफूलाई लगाइएको आरोपबारे परराष्ट्रमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेपछि थप प्रष्ट पार्ने बताए । आरोपबारे अहिले धेरै कुरा बोल्नु कुटनीतिक मर्यादा विपरीत हुने उनको भनाइ छ । उनले फिर्ता बोलाउने निर्णयलाई सहजरूपमा लिएको पनि बताए । (सौस)

प्रतिक्रिया