भारतमा २४ घन्टाभित्र दुई पत्रकारको हत्या

नयाँ दिल्ली, १ जेठ । भारतको पूर्वी क्षेत्रमा गएको २४ घन्टाभित्रै दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी २ जना पत्रकारको हत्या भएको छ । पत्रकारका लागि असुरक्षित मानिने एक एसियाली देश भारतमा हुने गरेका पत्रकार विरुद्धको हिंसाको यो पछिल्लो शृंखला भएको सञ्चारमाध्यममा आएको छ ।

प्रहरी र स्थानीय सम्वाददाताहरूले दिएको जानकारी अनुसार २४ घन्टायता पूर्वी भारतीय क्षेत्रमा यी दुई सम्वाददाता अज्ञात व्यक्तिको गोलीको निसाना बनेका हुन् । मारिनेमा एकजना राजदेव रञ्जन हुन् । उनी हिन्दी भाषाको पत्रिका हिन्दुस्तान दैनिकका स्थानीय ब्युरो प्रमुख हुन् । उनी बिहारका स्थानीय हुन् । उनी शुक्रबार राति मोटर साइकलमा आफ्नो घरतर्फ जादै गर्दा अज्ञात व्यक्तिले बिहारमा गोली हानी उनको हत्या गरेका थिए ।

उक्त पत्रिकाका स्थानीय सम्वाददाताहरूले दिएको जानकारीअनुसार उनलाई एक समूहमा रहेका व्यक्तिले निशाना बनाएका थिए । उनको शरीरमा ५ वटा गोली लागेका देखिएको प्रहरीले जनाएको छ । ‘उनलाई निकै नजिकबाटै गोली हानिएको छ’, उनका एकजना साथीले भनेका छन् ।

‘हामीले चाँडै नै अस्पताल त पु¥यायौँ तर बचाउन सकेनौँ’, उनले भने । उनलाई अस्पताल पु¥याउनासाथै मृत घोषित गरिएको सिवान जिल्लाका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

त्यस्तै मारिने अर्का पत्रकार अखिलेस प्रताप सिंह हुन् । उनी टेलिभिजन पत्रकार हुन् । उनलाई पनि बिहीबार मोटरसाइकलमा आफ्नो घरतर्फ जाने क्रममा नै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । उनको हत्या झारखण्डमा भएको थियो । पत्रकार सिंह झारखण्डकै स्थानीय पत्रकार हुन् ।

झारखण्डका एकजना वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादलाई उद्धृतगर्दै भारतीय पत्रिका इन्डियन एक्सप्रेसले सो समाचार दिएको छ । उक्त पत्रिकासँग उपेन्द्रले भनेका छन्, ‘पत्रकार सिंहको हत्याराको बारेमा अझैपनि पत्ता लागेको छैन र ती हत्यारा पनि मोटर साइकलमा आएका थिए भन्ने बारेमा भने हामीले थाहा पाएका छौँ ।’

यी दुवै पत्रकारका हत्यारा पक्राउ गर्न सकिएको छैन । प्रहरीले हत्याको आरोपमा केही व्यक्तिाई नियन्त्रणमा लिइएको भएपनि हत्यारा पक्राउ पर्न सकेका छैनन् भनेको छ ।

भारतमा पत्रकारहरू धेरै मारिने गर्छन् । पेरिसमा केन्द्रीय कार्यालय रहेको विश्वका पत्रकारहरूको सुरक्षासम्बन्धी एक अन्तर्राष्ट्रिय संस्थाले भारतलाई पनि पत्रकारको असुरक्षित स्थल भनेको छ । भारतमा समाचार लेखेकैका कारणले पत्रकारको ज्यान जाने गरेका समाचारहरू यसअघि पनि आउने गर्दथे ।

प्रतिक्रिया