भूकम्पपीडितलाई गोठ बनाउन आर्थिक सहयोग

गोरखा, ३१ वैशाख । गोरखाका १ हजार ७ सय जना भूकम्पपीडित किसानलाई पशुचौपाया पाल्ने गोठ बनाउन अनुदान रकम उपलब्ध गराइएको छ । कम्तीमा ३ वटा पशुचौपाया पाल्दै आएका किसानले गोठ बनाउन आर्थिक सहयोग पाएका हुन् ।

हालै ४ करोड ४८ लाख ५० हजारको बजेटले गोठ निर्माणमा सहयोग गरिएको कार्यालय प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले बताए । एउटा गोठ निर्माणमा २५ हजार रुपैयाँ अनुदान सहयोग दिइएको हो । जिल्लाका ३ हजार ७ सय ६० जना किसानले गोठ निर्माणमा अनुदान सहयोग पाउँ भन्दै कार्यालयमा निवेदन दिएका थिए ।

गोरखा नगरपालिका क्षेत्रका १ सय ८५, फुजेलका ४०, मनकामनाका ७०, छोप्राकका १ सय २०, हर्मीका ५५, मसेलका १ सय ४०, सौरपानीमा ९०, जौवारीका ८२, धुवाँकोटका ९०, खोप्लाङका १सय ५, ताङ्लीचोकका २५, ताक्लुङका ३०, ताप्लेका ७०, पालुङ्टार नगरपालिकाका २७४, ताकुकोटका १ सय ३, बोर्लाङका २सय जनालगायत गाविसका किसानले गोठ निर्माण गरेका हुन् । ५ हजारदेखि २५ हजार रुपैयाँसम्म अनुदान दिइएको कार्यालयका कर्मचारी नवराज पण्डितले बताए ।

आउँदो असार मसान्तभित्रमा सबै गोठ निर्माण गरिसक्ने उनको भनाइ छ । अनुदान पाएका किसानले गोठ बनाउँदा ढलान गरेर गाईवस्तुको पिसाब जम्मा हुने खाल्डो बनाउनुपर्छ । जम्मा भएको पिसाबमा पानी मिसाएर बालीमा प्रयोग गर्दा उत्पादन बढी हुनुका साथै रोगकिरा नलाग्ने उनले बताए ।

कृषि समूह र सहकारी संस्थासँग मिलेर किसानलाई गोठ बनाउन अनुदान रकम दिइएको हो । किसानले परम्परागत रूपमा काठको फलेक ओछ्याएर गोठ बनाउने गरेका थिए । ढलान गरेर सफा, सुग्घर गोठमा भैँसी पाल्दै आएको छोप्राकका फणीन्द्र पोखरेलको भनाइ छ । अनुदान पाएपछि किसान खुसी भएका छन् ।

प्रतिक्रिया